रेडियोको नवीकरण जरिबाना बापतको रकम छुट दिन सहमति दिइसकेको अर्थमन्त्री महतको भनाइ

अर्थमन्त्री डा. प्रकाश शरण महतले देशभरका रेडियोलाई यसवर्षको नवीकरणको जरिबाना बापतको रकम छुट दिनका लागि सञ्चार मन्त्रालयलाई सहमति दिइसकेको बताउनुभएको छ । १३ औँ विश्व रेडियो दिवसको अवसरमा ललितपुरमा हिजो भएको कार्यक्रममा अर्थमन्त्री महतले जरिबानाको रकम छुटका लागि निर्णय गरेर पुस महिनामै लेखी पठाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नवीकरणको जरिबानामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नै छुटको व्यवस्था कार्यान्वनय गर्नेछ । अर्थमन्त्री महतले आम नागरिकलाई सुसूचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका रेडियोलाई संरक्षण गर्ने कुरामा राज्यले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका सहभागी वक्ताले सूचना प्रविधि क्षेत्रमा भएको विकास र त्यसको बढ्दो प्रयोगले अहिले रेडियोले सङ्कटको सामना गर्नुपरिरहेको बताएका छन् । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले सूचना प्रविधिको अहिलेको युगमा रेडियोलाई पनि प्रभावकारी बनाउन काम गर्ने शैलीमा परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सूचना प्रविधि र इन्टरनेटमा आधारित सञ्चारमाध्यमसँग प्रतिस्पर्धा गर्न र रेडियोलाई टिक्ने बनाइराख्न स्थानीयका अपेक्षा पूरा हुनेखालका सामग्री प्रसारण गर्नुपर्ने बताउनुभयो ।