उत्तर कोरियाली नेता किम जोङ उनले रुस जानका लागि रेलयात्रा शुरु गर्नुभएको छ । नेता किम रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि रुसको भ्लादिभोस्तोकतर्फ जाँदै गर्नुभएको बीबीसीले जनाएको छ ।
नेता किम विशेष बख्तरबन्द रेल चढेर रुसतर्फ गइरहनुभएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । तर उत्तर कोरिया सरकारले भने किमको भ्रमणबारे कुनै पनि जानकारी सार्वजनिक नगरेको बीबीसीले जनाएको छ । किमले भोलि मङ्गलवार रुसी राष्ट्रपति पुटिनसँग भेट गर्ने कार्यक्रम छ ।
अमेरिकी अधिकारीहरूले रुसी राष्ट्रपति पुटिनले उत्तर कोरियासँग हतियार किन्न खोजिरहेको दाबी गरेका छन् । युक्रेन युद्धका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय दबाबमा परेका पुटिनले अहिले उत्तर कोरियासँग मिसाइल लगायतका हतियार खोजिरहेको अमेरिकाको आरोप छ । अहिले अमेरिका, दक्षिण कोरिया र जापानबीच सुरक्षा सहकार्य भइरहेको छ । छिमेकी देश उत्तर कोरियाले पनि मस्कोसँग सैन्य सहकार्यको प्रयास गर्दै आएको छ ।
कोरोना महामारीपछि उत्तर कोरियाली नेता किम पहिलो पटक विदेश भ्रमणमा निस्कनुभएको हो ।