राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसदमा स्वदेशी वस्तुमात्रै प्रयोग हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गर्नुभएको छ ।
आइतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद डाँगीले शीतल निवास, सिंहदरबार, संसद् र बालुवाटारमा स्वदेशी वस्तुको मात्रै प्रयोग गरी ती ठाउँहरूलाई आत्मनिर्भर बनाउन सरकारसँग माग गर्नुभएको हो । संसदमा प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै स्वदेशी वस्तु हुनुपर्ने सांसद डाँगीको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ ? ती कुराहरू अङ्कमा देखिने गरी किन लागू भएनन् ? त्यस्तै म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? कि नेपालमा नै बनेको हो ? प्रधानमन्त्री, सभामुखको कुर्सी कुन देशबाट आयात भएको हो ? सभामुख महोदय, सिंहदरबार, बालुवाटार, शीतल निवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौँ ।’
सांसद डाँगीले आन्तरिक उत्पादन बढाउनका लागि छलफल चलाउन पनि सरकारलाई सचेत गराउनुभयो ।