राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार : सामान्य हिँडडुल गर्न थाल्नुभयो

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । उहाँ सामान्य हिँडडुल गर्न थाल्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपचारका क्रममा रोग प्रतिरोधात्मक  क्षमता बढाउने एन्टिबायोटिक प्रयोग गरिएको छ । राष्ट्रपति पौडेलको उपचारसँग  सम्बन्धित थप परीक्षण भैरहेको छ । भारतको दिल्लीमा रहेको एम्स अस्पतालमा गएको बुधबारदेखि उहाँको उपचार भैरहेको छ ।

छाती र पेटमा समस्या देखिएपछि उहाँलाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि गएको चैत १८ गते त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । चैत २२ गते डिस्चार्ज हुनुभएका राष्ट्रपति पौडेललाई सोमबार पुनः शिक्षण अस्पताल लगिएको थियो । त्यसपछि भारत लगिएको हो ।