राष्ट्रपतिमा नेम्वाङको दाबीः छैठौँपटक सभामुख बन्दिनँ, सरकारमा जान्नँ

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा आफ्नो दाबी रहेको जनाएका छन्। सत्ता गठबन्धनमा एमालेले राष्ट्रपति र सभामुख लिने समझदारी भएको अवस्थामा आफूले राष्ट्रपति पद पाउनुपर्ने संकेत गर्दै आएका छन्।

एमाले–माओवादी गठबन्धन बनाउनसमेत भूमिका खेलेका नेम्वाङ राष्ट्रपतिको स्वभाविक उम्मेदवार भए पनि पार्टी नेतृत्वले अरु विकल्प खोज्न थालेका छन्। एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिको उम्मेवार बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल वा राष्ट्रियसभाका पूर्व सदस्य गोमा देवकोटालाई बनाउन छलफल थालेका हुन्।

नेम्वाङलाई फेरि सभामुख नै बनाउने वा सरकारमा पठाउने विषयमा छलफल सुरु भएपछि उनले त्यसप्रति असहमति जनाएका छन्। देश सञ्चारसँग उनले भने, ‘म पाँच पटक सभामुख भइसकेँ। त्यो पनि संविधानसभा अध्यक्षको समेत जिम्मेवारी सर्वसहमत रुपमा दुई पटक लिएर। अब म फेरि सभामुख हुँदिनँ। सरकारमा जाने त कुरै आउँदैन।’

प्रधानमन्त्रीमा आफ्नो दाबी नै नरहेको नेम्वाङले बताए। उनले भने, ‘हामीले चुनावअघि नै अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउँछौँ, अरु होइन भनेका छौँ। त्यसो हुँदा अहिले अरुले त्यसमा दाबी गर्नै मिल्दैन।’

उनले कुनै पनि व्यक्तिलाई जिम्मेवारी दिँदा स्वभाविक हुनुपर्ने धारणा राखे। ‘पञ्चायतकालमा समेत एकैपटक कोही पनि मन्त्री हुँदैनथ्यो। उसलाई पहिला सहायक मन्त्री, राज्यमन्त्रीको जिम्मेवारी दिएपछि मात्रै मन्त्री अनि त्यसपछि प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो,’ देश सञ्चारसँगको कुराकानीमा उनले अगाडि भने, ‘सूर्यबहादुर थापा जी सहायक मन्त्रीबाट प्रधानमन्त्री बनेका हुन्।’ व्यक्तिलाई जिम्मेवारी दिने कुरामा अहिले पञ्चायतको जति पनि स्ट्याण्डर कामय गर्न नसकेको भन्दै उनले गुनासो गरे।

रवि लामिछानेलाई एकैपटक उपप्रधानमन्त्री बनाएको विषयमा एमालेभित्र असन्तुष्टि देखिएका बेला नेम्वाङले अरु पदमा त्यस्तो अस्वभाविक हुन नहुने जिकिर गरे।

२०४८ सालदेखि निरन्तर सांसद रहँदै आएका नेम्वाङ २०६३ सालमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि पहिलो पटक सभामुख बनेका थिए। २०६४ को व्यवस्थापिका संसदमा पनि उनी सभामुख भए।

त्यस्तै, २०६४ र ७० मा गठन भएको संविधानसभा उनी अध्यक्षसहित सभामुखको भूमिकामा थिए भने रुपान्तरित संसदमा थोरै अवधिसमेत गरेर उनी पाँच पटक सभामुख भइसकेका छन्।