खतिवडाले सरकार र सरकारका मन्त्रीहरुले पछिल्ला दिनमा गरिरहेको विवादित निर्णयमा सरकराले नियमन गर्न नसकेको भन्दै चर्को आलोचना गरेका हुन् । उनले रामग्राम परियोजना एउटा अमुक व्यक्तिलाई बिना कनै प्रतिस्पर्धा लिजमा दिएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको आलोचना गरेका थिए ।
मन्त्री किराँती प्रचारवाजी र स्टन्टमा लागेको भन्दै आलोचना गरेका हुन् । ‘मन्त्रीजी असाध्यै सुधार गर्न लागेको आभास मिलेको छ । एउटा झाडु र क्यामरा लिएर गएर फोटो खिची बाहिर ल्याउने पद्धतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो ? सस्तो लोकप्रियताका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न टीभी लिएर गइ त्यो भिडियो हाल्दिएपछि सबभन्दा क्रान्तिकारी र राम्रो हुने हो भने मुलुक कसरी विकास गर्ने ? त्यसमा सरकारको ध्यान जाओस्,’ उनले भने ।
खतिवडाले सुशासनको नाममा ल्यारक्याल लामाजस्ता व्यक्तिलाई लुम्बिनी विकास कोषमा नियुक्त गरेको भन्दै विरोध जनाए । ‘गौतम बुद्ध शान्तिको दूत, उनैको नाममा लकरमा गोली राख्ने मान्छेलाई नियुक्ति गरेपछि देशको हालत के होला सभामुख महोदय ?’ उनले प्रश्न गरे । खतिवडाले यस्तो भनिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले बेजोडले टेबुल ठोकर समर्थन गरेका छन् ।