बारामा राजस्व बढाउने बहानामा नगर कार्यपालिकाले अनियमितता गर्नका लागि नदीजन्य पदार्थको उत्खनन् तथा बिक्री आफैंले गर्ने निर्णय गरेको छ ।
कार्यपालिकाकाे साेही निर्णयप्रति बाराको जीतपुरसिमरा उपमहानगरका नगर सभा सदस्यहरुले विरोध गर्न थालेका हुन् ।नगरप्रमुख राजन पौडेलले यहि पुस २२ गते कार्यपालिका बैठकबाट उपप्रमुख भोलाप्रसाद अधिकारीको संयोजकत्वमा उत्खनन् तथा बिक्री वितरण गर्न १४ सदस्यीय कार्यदल गठन गरेसँगै सदस्यहरुले विरोध गर्न सुरू गरेका हुन् । पुसमा गर्ने नगरसभा स्थगित गरिएसँगै कार्यपालिकाको यो निर्णय आफूहरूलाई अमान्य हुने भन्दै नगरसभा तत्काल गर्न सदस्यहरुले माग गरेका छन् ।
अधिकांश जनप्रतिनिधिको कृषि सामग्री ढुवानी गर्ने साना ट्याकटरहरूले काम नपाइरहेको अवस्थामा राजस्व बढ्ने बहानामा कार्यकर्तालाई कर्मचारीको नाममा भर्ति गर्न गिट्टी, ढुङ्गा र बालुवा उत्खनन् गरी घाटगद्दी गरेर बेच्ने अन्तिम तयारीमा कार्यपालिका जुटेको छ । ठेक्का नलाग्ने भएपछि स्थानीय निर्माण कम्पनी तथा सप्लार्यसहरुले उपमहानगरको निर्णयले राजस्व बढ्ने भन्दै स्वागत गर्न थालेसँगै प्रमुख पौडेलको निर्णय शंकामा रहेको भन्दै नगरसभा सदस्यहरुले प्रश्न उठाउन थालेका छन् ।
उपमहानगरका प्रवक्ता ईश्वर केसीले उपमहानगरको राजस्व बढाउन आफैंले बिक्री गर्ने योजना ल्याएको बताउदै नदिजन्य उत्खनन् ओसारपसारका लागि उपमहानगरको कमजोर ईक्वीमेन्टबाट सम्भव नहुने हुँदा निजी व्यवसायीको भाडामा प्रयोग गर्ने जानकारी दिनुभयाे । स्थानीय सरकारको भ्रष्टाचार हुने विविध स्वरूप मध्ये प्राकृतिक तथा खनिज उत्खनन मध्ये नदिजन्य प्रमुख हुने गरेको पाइएकाे छ ।