‘राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गराउने मुद्दा राप्रपाले उठाउँछ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्ने मुद्दालाई आफ्नो पार्टीले संसदभित्र र बाहिर पनि अझ दह्रो ढंगले उठाउने बताउनुभएको छ।

उपाध्यक्ष प्रधानले राजा संस्थाले सिंगो नेपालको प्रतिनिधित्व गर्ने र हिन्दु धर्म सबैले मान्दै आएको धर्म भएकाले त्यसलाई पुनःस्थापना गर्नका लागि आफ्नो पार्टी अझै क्रियाशील भएर लागि पर्ने जिकीर गर्नु भएको हो । शनिबार नवलपरासीमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सबैले मानिरहेको राजसंस्था र सबैले पालना गरिरहेको हिन्दु धर्मलाई राप्रपाले मुख्य एजेण्डा बनायो भनेर चिन्ता नगर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।

पूर्व कानूनमन्त्री समेत रहनु भएका प्रधानले राप्रपाले जनताको पक्षमा कुनै एजेण्डा नबोकेको भनेर भ्रम छर्न खोजिएको भन्दै आपत्ति समेत जनाउनुभयो । भ्रष्टाचार नियन्त्रण गर्न, कानून निर्माण गर्न, जनतालाई नागरिकता दिनका लागि नागरिकता विधेयक ल्याउने कुरामा पनि राप्रपाले सरकारमा रहँदा धेरै काम गरेको भएपनि त्यसलाई ओझेलमा पार्ने प्रयास भइरहेको उहाँले गुनासो गर्नुभयो ।

उपाध्यक्ष प्रधानले दुई वटा संसदीय समितिको नेतृत्वमा आफ्नो पार्टीको दावी रहेको बताउनुभयो । संसदीय समितिमा हैसियत अनुसार सहभागी हुने उल्लेख गर्दै उहाँले त्यसमा पार्टीको तर्फबाट सदस्यमा सहभागिता रहने कुरा सुनिश्चित भइसकेको पनि बताउनुभयो । संसदीय समितिमा सबैले साथ दिए नेतृत्व पनि लिने र नभए समितिको सदस्यको रुपमा रहेर आफूहरुले काम गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

संसदीय समितिमा सदस्यको रुपमा रहने कुरा सुनिश्चित भएकाले नेतृत्वका लागि मरिहत्ते गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि उपाध्यक्ष प्रधानले बताउनुभयो ।

 

Share your love