रविको व्यङ्ग्य : अपराधीलाई उन्मुक्तिको खुसीयालीमा राष्ट्रपति कार्यालयमा भोज दिइएको हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले संविधान दिवसका दिन जन्मकैद भएको अपराधीलाई उन्मुक्ति दिएको विषयमा आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संविधान दिवसको दिन राष्ट्रपतिले गरेको भोजमाथि कटाक्ष गर्दै त्यो भोज संविधान पाएको खुसीयालीको नभई दिनदहाडै सडकमा मान्छे काट्नेलाई उन्मुक्ति दिएको भोज भएको टिप्पणी गरेका छन् ।

उनले भने,‘म खुसी छु त्यो पार्टीमा जुठो खान परेन । नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रमा संविधानप्रति यो देशमा आशा भरोसा गरिएको छ, त्यति धेरै लगानी गरेर बनाइको संविधानको दिवसको मौका छोपेर सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट हुन गयो, राष्ट्रिय स्वतन्त्र पार्टी त्यसको घोर विरोध गर्न चाहन्छ ।’

उनले लोकतन्त्र, संविधानका विषयहरुमा टेकेर यस्ता जघन्य अपराध गर्ने मानिसहरुलाई, दिउँसै मान्छे हत्या गरेर आजीवन जेल सजाय पाएको मान्छेलाई जनताले खुसी मान्नुपर्ने अवसरहरुमा उन्मुक्ति दिने प्रणालीलाई बन्द गर्न माग गरेका छन् ।