ढाकामा शुक्रबार भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।
रोमाञ्चक खेलमा नेपालकी गोलकिपर तथा कप्तानी गरेका सुजता तामाङले उत्कृष्ट प्रदर्शन गर्दै एक पेनाल्टी बचाएपछि नेपाल च्याम्पियन बनेको हो ।
खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४ औँ मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर, खेलको ५४ औँ मिनेटमा रुमाले गोल गर्दै बङ्गलादेशलाई १–१ गोलको बराबरीमा ल्याइन् ।
त्यसपछि खेलको ८९ औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी प्राप्त गर्यो । तर, बङ्गलादेशकी बीबी रिताको पेनाल्टीको गोलकिपर सुजताले उत्कृष्ट बचाउ गरिन् ।
त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिँदा नेपाल च्याम्पियन बनेको हो ।
यस बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहँदै १० अङ्क जोड्यो । र, शीर्ष स्थानमा रहँदै नेपालले उपाधि उचाल्न सफल भयो ।
बङ्गलादेश भने ४ खेलमा ७ अङ्क जोडेर उपविजेता बन्यो ।
भुटान अङ्कविहीन रहँदै घर फर्कियो ।
प्रतियोगितामा नेपाल, भुटान र बङ्गलादेशको सहभागिता रहेको थियो ।
यस अघिको भेटमा नेपालले बङ्गलादेशलाई १–० ले हराएको थियो ।