प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताउनुभएको छ ।
आज मङ्गलवार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेल लगायतका नेताहरूले प्रधानमन्त्रीलाई बालुवाटारमा मेलम्ची खानेपानीकाे बारेमा ध्यानाकर्षण पत्र बुझाएपछि देउवाले यस्तो बताउनुभएको हो । उहाँले मेलम्ची खानेपानी काठमाण्डाैका लागि महत्त्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी काठमाण्डाैमा १२ महिना नै ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताउनुभयो । उहाँले पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर सहर सफा गर्ने प्रण गरे पनि अहिले आएर उहाँको सपना पूरा भएकोप्रति खुसी व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी विकास समिति खारेज गरिएकोबारे कारण पत्ता लगाउन आवश्यक रहेको पनि बताउनुभयो । उहाँले मन्त्रिपरिषद्को बैठकमा मुख्य सचिवसहितका विज्ञ टोली राखेर मेलम्चीको पानीलाई थप व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘विकास समिति किन खारेज भयो त्यो सम्बन्धमा पनि कुरा गरौँ । नयाँ बनाउनुपर्ने भए पनि बनाउँला के भयो र ?’
कांग्रेस नेता सिंहसहितको टोलीले केही दिनअघि मात्रै मेलम्ची खानेपानी मुहानमा पुगेर त्यहाँको अवलोकन गर्नुभएको थियो । अवलोकनपछि टाेलीले त्यहाँकाे समस्याका बारेमा र काठमाण्डाैवासीलाई खानेपानी समस्याको हल गर्न प्रधानमन्त्रीसमक्ष आज ध्यानाकर्षण गराउनुभएको हो । ध्यानाकर्षण पत्रमा आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकाले आयोजनाको काममा अन्योल देखिएको भन्दै तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिन माग गरिएको छ ।