२०७० सालको निर्वाचित संविधानसभा सदस्य अमृत अर्याल मंसिर ४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । भागबण्डा मिलाउनु पर्ने भएपछि सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री बनाउने आश्वानसहित उनलाई प्रदेशमा पठाएका थिए ।
मुख्यमन्त्रीका अर्का प्रमुख दाबेदार राजिव कोइराला पराजित भएपछि मोरङ ५ (२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका अर्याललाई गठबन्धनबाट भावी मुख्यमन्न्त्रीको रुपमा हेरिएको थियो ।
प्रदेश १ संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवा प्यानलबाट अर्याल उम्मेदवार थिए । दलको नेतामा कृष्णप्रसाद सिटौला पक्षका उद्धब थापा १८ मतसहित विजयी हुँदा अर्यालले जम्मा २ मत मात्रै प्राप्त गरे । डा. शेखर कोइराला पक्षका अर्का प्रत्यासी केदार कार्कीले ९ मत पाए ।
बिहीबार दलको नेतामा विजयी हुने दाबीसहित मनोनयन दर्ता गरेका अर्यालले आफ्ना प्रस्तावक र समर्थकमध्ये एकको मतसमेत पाएनन् । अर्यालको समर्थकमा सुनसरीकी सुनिता कुमारी गुरुङ र प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ थिए ।
देउवा पक्षको भए पनि विजयकुमार गच्छदारसँग निकट भएका कारण गुरुङले मतदान नगरेको अर्याल निकट नेताहरुको गुनासो छ । गच्छदारले दलको नेताको निर्वाचनमा थापालाई समर्थन गरेका थिए । देउवा गुटकै अर्का नेता रमेशजंग रायमाझी पनि अर्यालको विपक्षमा थिए । अर्यालसँगको व्यक्तिगत टकरावका कारण उनले थापालाई सहयोग गरेका थिए ।
अर्याल निकट नेताहरु सभापति देउवाले उठ्न लगाएर अन्त्यमा असहयोग गरेको बताउँछन् । ‘हिजो त उहाँकै सल्लाहमा दलको नेता हुँदै मुख्यमन्त्री बन्न प्रदेश आउनु भएको थियो, तर आज प्रस्तावक र समर्थकमध्ये एउटाले भोट नहाल्ने अवस्था आयो,’ अर्याल निकट एक नेताले भने, ‘आफ्नो टिमले बलियो भएका कारण उहाँ जित्नेमा ढुक्क हुनुहुन्थ्यो ।’
मतपरिणाम सार्वजनिक भएपछि अर्यालले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।