सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको टिप्पणी गरेका छन् । शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
उनले संसद र अन्य संघसंस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहे पनि सञ्चारमाध्यमहरुले त्यस अनुसार प्रचारप्रसार नगरेको आरोप लगाए । उनले आफू सभामुख भइसकेपछिका संसद बैठकमा पनि महिला सांसदहरुले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चारमाध्यमहरुले सक्रियता अनुसार प्रचार गर्न कन्जुस्याइँ गरेको बताए ।
सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको गुनासो गरेका थिए । संसदमा पनि उल्लेख्य महिला सहभागिता र सञ्चारमाध्यमहरुको उपस्थिति नरहेको उनको गुनासो थियो । यस क्रममा उनले संसदमा महिलाहरुका लागि अस्थायी प्रकृतिका केही संरचनाहरु जरुरी रहेको भन्दै त्यो निर्माण गर्नेगरी संसद सचिवालयसँग कुरा गरी महिलालाई मिडिया फ्रेण्ड्ली बनाउन विभिन्न कार्यक्रम निर्माण गर्ने योजनामा आफू रहेको बताए ।
सञ्चारमाध्यमहरुले संसदको विषयवस्तु महत्त्वपूर्ण नठानेर चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै बढी ध्यान दिने गरेको पनि उनले बताएका थिए ।
यस्तै खास नेताहरू बोल्ने दिन हुँदा संसद्मा मिडियाको आकर्षक उपस्थिति देखिने तर अन्य अवस्थामा उपस्थिति नहुने उनको भनाइ थियो । साथै मिडिया कन्टेन्टमा के छ त्यसलाई नहेरेर, चर्चामा रहेका विषय र नेताको प्रचारमा मात्रै जाने आफूले देखेको उनले बताएका थिए ।