मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले विज्ञप्ति जारी गरी मङ्सिर १६ गते विराटनगरबाट शुरू हुने साङ्गीतिक यात्रा पुस १६ गते काठमाडौंमा समापन हुने बताए । वीरगंजमा नेपथ्य लाइभ कन्सर्ट मङ्सिर १९ गते सोमवार हुन गइरहेको छ । देशभरमा नेपथ्य लाइभ कन्सर्टको तयारी पूरा भएको अध्यक्ष अधिकारीले बताए । उनले नेपथ्यले सङ्गीतमार्फत विभिन्न सामाजिक मुद्दालाई स्थापित गराउँदै समाजमा सचेतना जगाउने अभियान गर्दै आएको र यसपटक मानवीय सेवाको लागि मानव सेवा आश्रमसँग सहकार्य गरी देशव्यापी एक महीने साङ्गीतिक यात्रा गर्न लागेको बताए ।
मानव सेवा आश्रम सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरूपमा कमजोर) को उद्धार, सडक आश्रित मानवोचित व्यवस्थापन, औषधो पचार, पालनपोषण र जीवनरक्षा गर्दै परिवार खोजेर पुनर्मिलनसमेत गराउने अभियानमा एक दशकदेखि निरन्तर सक्रिय छ ।
हेटौंडा मुख्य कार्यालय रहेको आश्रमले देशभर १९ जिल्लाका २३ वटा सेवा केन्द्रमार्फत छ सयभन्दा बढी आश्रित मानवहरूलाई सेवा दिंदै आएको छ । विसं २०८२ सम्म नेपालका सडकपेटीलाई सडकआश्रित मानवरहित बनाउने योजनाका साथ आश्रमले अभियान थालेको हो । वीरगंजमा विगत छ वर्षदेखि मानव सेवा आश्रम सञ्चालनमा छ । अहिले आश्रममा ५० जना आश्रित रहेको सानु मानवसेवाले बताइन् । वीरगंज–११ रानीघाटमा भाडामा सञ्चालित आश्रम केही महीनाअघि मात्र प्रदेशसभा सदस्य रमेश कुर्मीले आफ्नो संसदीय विकास कोषबाट निर्माण गरेको रु छ करोड लागतको वृद्धाश्रममा सञ्चालन भइरहेको छ ।
वीरगंजमा मङ्सिर १९ गते हुन गइरहेको नेपथ्य लाइभ कन्सर्टको दुई हजारवटा टिकट बिक्री भइसकेको सानु मानवसेवाले बताइन् । उनले एक हजार मूल्यका पाँच हजारवटा टिकट बिक्रीको लक्ष्य रहेको जानकारी गराइन् । कन्सर्टको लागि मङ्सिर १७ गते नेपथ्यका ७० जनाको साङ्गीतिक टोली वीरगंज आउने र मञ्चको तयारी गर्नेछ । टोलीलाई वीरगंजमा बस्ने, खानेलगायतको व्यवस्थापन गरिने उनले बताइन् । नेपथ्यका मुख्य गायक अमृत गुरुङलगायतको टोलीले मङ्सिर १९ गते आदर्शनगर रङ्गशालामा कन्सर्ट गर्ने सानु मानवसेवाले बताइन् । आजको प्रतिकबाट