महिला साफ च्याम्पियनसिप फुटबलमा आज दुईवटा खेल हुँदै

काठमाण्डाै – नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज समूह ‘ए’ को समूह चरणका अन्तिम दुई खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा माल्दिभ्स र पाकिस्तान खेल्दैछन् । दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । यस्तै दोस्रो खेलमा बेलुकी साढे ५ बजे भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनलमा प्रवेश गरिसकेका भारत र बङ्गलादेशबीचको खेलले समूह विजेता र उपविजेता तय हुनेछ । समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगिसकेका छन् । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ।

Share your love