अध्यक्ष अयडीलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको र घटनामा संलग्न स्थानीय रंगलाल पाध्याय र विनोद अयडीको खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक सूर्य बहादुर थापाले बताएका छन्। पाध्याय र अयडी फरार छन्।
बाजुराको बुढीगंगा नगरपालिका घर भएर हाल कञ्चनपुर जिल्लामा बस्दै आएका टेकेन्द्र सुनार पुजाको क्रममा नाटेश्वरी मन्दिर पुगेका थिए। पूजाका लागि मन्दिर परिसरमा प्रवेश गरेका सुनार माथि वडा अध्यक्ष अयडी सहीत तीन जनाले मन्दिर छोएको आरोपमा कुटपिट गरेका थिए।
दलितले मन्दिर प्रवेश गर्न पाउँदैन्, दलित भएर भगवानको मन्दिर प्रवेश किन गरेको भन्दै कुटपिट गरेको पीडित सुनारले बताएका छन्। आँखा र मुखमा घाउ लागेर अनुहार नै सुनिएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेपनि उजुरीका लागि चौतर्फी दबाब बढेको थियो। कुटपिट र विभेद सहेर बसेका सुनारले दलित अधिकार कर्मीको सहयोगमा न्यायका लागि उजुरी दिएको बताएका छन्।
मान्छेभएर पनि मान्छेको जस्तो व्यवाहार नगर्ने राज्यका प्रतिनिधीलाई कानुनको पाठ पढाउन र मान्छेलाई सम्मान गर्न पर्छ भन्ने थप सिकाइका लागि कानुनको शरणमा आएको सुनारको दुखेसो छ। जंगली व्यवाहार सहीत आफूमाथि आक्राम गरिएको र डुमले मन्दिर छोए अनिष्ट हुने भन्दै विभेद गरेको आरोप सुनारको छ।
वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिएपनि हिरासदमा राखिएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी थापाका अनुसार पीडित सुनारले उनीहरूले आफूसँग भएको ६० हजार रुपैयाँ समेत लुटेर लगेको दाबी गरेका छन्।
जातीय विभेद गर्ने अयडीसहित तीन जना विरुद्ध जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ अन्र्तगत उजुरी गरिएको छ। उजुरी प्रमाणित भएमा ५० हजारदेखि २ लाखसम्म जरिवाना र तीन महिनादेखि तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सार्वजनिक पद धारण गरेका व्यक्तिबाटै सार्वजनिक स्थलमा जातीय विभेद गरिएपछि चौतर्फी विरोध भएको छ।