मधेस प्रदेशमा मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १४ लाख पुग्यो

मधेस प्रदेशमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या १४ लाख पुगेको छ। नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यस प्रदेशमा मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या १३ लाख ९० हजार २८५ पुगेको हो।

राष्ट्र बैंकको वार्षिक प्रतिवेदन ०७८/७९ का अनुसार सबैभन्दा बढी धनुषामा २ लाख ३७ हजार ६४१ जना मोबाइल तथा इन्टरनेट बैंकिङका प्रयोगकर्ता छन्।

यस्तै, पर्सामा २ लाख ३० हजार ६७१, सिरहामा २ लाख ६ हजार ६२, बारामा १ लाख ७४ हजार ६०३, सर्लाहीमा १ लाख ६२ हजार ७०५, महोत्तरीमा १ लाख ३० हजार १०३, सप्तरीमा १ लाख २७ हजार २४३ र रौतहटमा १ लाख २१ हजार २५७ जना मोबाइल तथा इन्टरनेट बैंकिङका प्रयोगकर्ता हुन्।

यस्तै, २०७९ को असार मसान्तसम्म वाणिज्य बैंकदेखि लघुवित्त संस्थासम्मको १ हजार ७४५ वटा शाखा स्थापना भएको हो। ०७८ को असार मसान्तसम्म भने यो संख्या १ हजार ६ सय ७ थियो। राष्ट्र बैंकको प्रतिवेदनअनुसार ०७९ असार मसान्तसम्म वाणिज्य बैंकको ५७२, विकास बैंकको ८४, वित्त कम्पनीका ३८ र लघुवित्त वित्तीय संस्थाको १ हजार ५१ वटा शाखा छन् ।

जिल्लागत अनुसार बारामा सबैभन्दा बढी २५० वटा बैंकको शाखा छ। यस्तै, धनुषामा २४९, सिरहामा २३९, सर्लाहीमा २२९, महोत्तरीमा २१५, पर्सामा १९२, सप्तरीमा १९१ र रौतहटमा १८० वटा शाखा छन्। असार मसान्तसम्म मधेस प्रदेशमा एटिएमको संख्या ४०२ पुगेको छ, जसमा सबैभन्दा बढी पर्सामा ७० वटा र सबैभन्दा कम रौतहटमा ३१ वटा छन्।

यस्तै, सिरहामा ६४, धनुषामा ६२, बारामा ५८, सप्तरीमा ४०, सर्लाहीमा ३९ र महोत्तरीमा ३८ वटा एटिएम छन्।