मधेसमा अहिले झिझियाँ नृत्यले व्यापकता पाइरहेको छ । झिझियाँ लोकगीत भएकाले पनि यसमा उत्साहजनक सहभागिता हुने गरेको छ । यो गीत गाउँदा लोकबाजा ढोलपिपही बजाइन्छ । माटोको घैलामा सयौँ प्वाल पारिन्छ । प्वाल पारिएको घैलाभित्र बलिरहेको दियो राख्ने चलन छ । बलिरहेको दियोसहितको घैला टाउकोमा राख्दै नाच्ने गरिन्छ । सिरहाका प्राध्यापक चन्देश्वरप्रसाद यादव आफ्ना सन्तान र समाजको सुरक्षाका लागि झिझियाँ नृत्य सुरु भएको बताउँछन् । झिझियाँ नृत्य प्रदर्शनले कुदृष्टि नष्ट हुने विश्वास छ ।
झिझियाँ नृत्यको आफ्नै सुर र ताल हुन्छ । झिझियाँको गीतमा झुमी टाउकामा घैंटो राखेर चारैतिर फन्को मार्दै नृत्य गरिन्छ । अहिले झिझियाँ लोकनृत्य सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सासँगै सीमावर्ती भारतका विभिन्न स्थानमा समेत आयोजना गरिँदै आएको छ ।
लोकबाजा ढोलपिपही र लोकनृत्य झिझियाँलाई व्यापकता दिन फेस्टिबल नै आयोजना गर्ने चलन सुरु भएको छ । सन् २०१२ देखि यही परम्परालाई बढावा दिन सिरहा सदरमुकाममा फेस्टिबलकै आयोजना भयो । त्यसपछि फेरि गाउँ र सहरसम्म यो नाचले व्यापकता पाउँदै गयो । अहिले दुर्गा मन्दिरपरिसरमा झिझियाँ प्रतियोगिताका निम्ति मञ्च निर्माण गरिन्छ । किशोरीहरू वेशभूषा र गरगहना लगाएर समूह बनाई प्रतियोगितामा सहभागी हुन्छन् । यस्तो चलनले मौलिक पहिरन र लोकनृत्यको जगेर्ना गर्न ठूलो मद्दत पुगेको युवा अभियन्ता जितेश कर्णको भनाइ छ । प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई नगद, प्रमाणपत्र, ट्रफीजस्ता उपहार पनि प्रदान गरिन्छ ।
दसैँ नजिकिँदै जाँदा रोजगारी र शिक्षा आर्जन गर्न घरबाहिर रहेकाहरू आफ्नो घर फर्किन थालेका छन् । विद्यालय, कलेजलगायत शैक्षिक संस्था बन्द हुने भएकाले पनि विद्यार्थीहरू आफ्नो घर फर्किने गर्छन् । दसैँको लामो बिदाले गर्दा पनि यो नृत्यको रौनकता बढेको हुन सक्छ ।
झिझियाँ नृत्यको आफ्नै सुर र ताल हुन्छ । झिझियाँको गीतमा झुमी टाउकामा घैंटो राखेर चारैतिर फन्को मार्दै नृत्य गरिन्छ । अहिले झिझियाँ लोकनृत्य सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सासँगै सीमावर्ती भारतका विभिन्न स्थानमा समेत आयोजना गरिँदै आएको छ । साभार : नयाँपत्रीका