मधेशका सहिदप्रति माैनधारण नगरेकाेबारे लिङ्देनकाे भनाइ : संसदकाे एउटा मर्यादा हुन्छ

उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरीत संसदमा आफैंले सहिदहरुको सम्मान भन्दै मौनधारण गर्न लगाएको दावी गर्नु भएको छ ।

मधेशका सहिदहरुप्रति सरकार र संसदले सम्मान नगरेको भन्दै गएकाे माघ ५ गते बसेको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले मौन धारण गर्न लगाउनु भएको थियो ।

त्यो काम संसदीय मर्यादा र नियम विपरीत भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरुले मौन धारण गर्ने काममा सहभागी नभएको पनि उपप्रधानमन्त्री लिङदेनले स्पष्ट पार्नु भयो ।

उहाँले विशेष परिस्थितिमा सभामुखले गरेको रुलिङलाई मात्रै संसदमा मान्नुपर्ने परिपाटी रहेको पनि उल्लेख गर्नु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनु भएका लिङ्देनले आफूहरुले त्यस क्रममा सहिदहरुलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि सबैलाई आह्वान गर्नु भयो ।