भारतमा किसान आन्दोलनको दोस्रो दिन आज पनि दिल्लीमा सुरक्षा व्यवस्था कडा

किसान आन्दोलनको दोस्रो दिन आज पनि दिल्लीमा गाडी सञ्चालनमा समस्या हुने भन्दै नागरिकका लागि ट्राफिक एड्भाइजरी अर्थात विभिन्न रुटबारे जानकारीसहितको सूचना निकालिएको छ । दिल्ली ट्राफिक प्रहरीले बन्द हुने सडक र खुल्ला हुने सडकबारे जानकारीसहित सूचना निकालेको हो ।

यही सूचनाको आधारमा यात्राको योजना बनाउनुपर्ने र भिडभाड हुने समयमा यी रुटबाट टाढा हुन पनि प्रहरीले आग्रह गरेको छ । हिजो किसानको प्रदर्शनका कारण विभिन्न क्षेत्रमा घण्टौसम्म गाडी जाम भएको थियो । किसानको विरोधका क्रममा हिजो भएको गतिविधिलाई ध्यानमा राख्दै दिल्ली मेट्रोका धेरै स्टेशनका ढोकाहरू हिजैदेखि बन्द गरिएको छ  ।

तर, रातिको समयमा भने अबेरसम्म खोलिएको थियो । हिजो हरियाणा सीमामा प्रवेश गर्न खोजिरहेका आन्दोलित किसानहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार थियो । त्यसपछि किसान र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । आज फेरि किसानको विरोध प्रदर्शनका क्रममा झडप हुनसक्ने भन्दै दिल्ली र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको बीबीसी हिन्दीले जनाएको छ ।

आफूले फलाएको अन्नबालीले उचित मूल्य पाउनुपर्ने लगायत मागसहित भारतको हरियाणा, पन्जाब र उत्तर प्रदेश राज्यका किसानले प्रदर्शन गरिरहेका छन् ।