भक्तपुर अदालतको पत्र आएपछि ‘सिरियल किलर’ चार्ल्सकाे रिहाइ हुने

‘सिरियल किलर’ चार्ल्स शाेभराज आजै रिहाइ हुने भएका छन्। उनकाे रिहाइका लागि केन्द्रीय कारागार, सुन्धाराले भक्तपुर अदालतकाे पत्र कुरेर बसेकाे छ। शोभराजलाई जन्मकैद (२०) को कैद सजायको फैसला गर्ने जिल्ला अदालतमार्फत् पत्र कारागार कार्यालयमा पुगेपछि उनी रिहाइ हुनेछन्। थुनामुक्त हुने प्रक्रियासमेत अघि बढिसकेको केन्द्रीय कार्यालयले जनाएकाे छ।

सर्वोच्च अदालतले बुधबार ‘बिकिनी किलर’ भनेर चिनिने फ्रान्सेली नागरिक शोभराजलाई जेलमुक्त गरी १५ दिनभित्र आफ्नै देश फर्काउन आदेश दिएको थियाे। जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्थाअनुसार सर्वोच्चले उनलाई जेलमुक्त गर्न आदेश दिएको हो।

शोभराजलाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदाललते २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म कैदमा राख्न आदेश दिएको थियो।

उक्त आदेशलाई तत्कालीन पुनरावेदन अदालत र सर्वोच्च अदालतले समेत सदर गरेको थियो। नियमित अवस्थामा १० महिना मात्रै कैद सजाय भुक्तान गर्न बाँकी रहेको अवस्थामा बुधबार न्यायाधीश सपना प्रधान मल्ल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेका हुन्।

आदेशमा उल्लेख गरिएको छ,‘निजलाई निरन्तर कैदमा राखिराख्नु कैदी बन्दीको मानव अधिकार मापदण्ड, संविधान तथा कानुनप्रदत्त अधिकार अनुकूल देखिएन। बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ। अन्य मुद्दामा थुनामा रहेका निजलाई आजै कैदबाट छाडी दिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत यो आदेश जारी गरिएको छ।’

सुन्धाराको कारागारमा रहेका शोभराजले गत मंसिर ९ गते आफूलाई जेष्ठ नागरिकले पाउने सुविधा दिन निवेदन दिएका थिए। कारागार नियमावली, २०२० का नियम २९(२क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरूलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको नहुने अवस्थामा पुगेको कैदीलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने सुविधा दिएको छ।