बैतडीकी माया लुहार हत्याका आराेपी सशस्त्र प्रहरी जवान पक्राउ

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् । कोली आज आइतवार महेन्द्रनगरकाे बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।

प्रहरी निरीक्षक भरत गिरीका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न रहेको आरोप लागेका बैतडीको शिवनाथ गाउँपालिका–४ का सशस्त्र प्रहरी जवान कोलीलाई पक्राउ गरेको हो । बिदामा घर आएका बेला मायाको हत्या गरेको कोलीमाथि आरोप छ । मायाका परिवारजनले कोलीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि उनको खोजी भइरहेको थियो ।

यही मङ्सिर १३ गते बैतडीमा मायाको घाँटी रेटेर हत्या गरिएको थियो । मायाको साथमा रहेकी नेहा लुहारको समेत घाँटी रेटेर हत्याको प्रयास गरिएको थियो । घाइते अवस्थामा भेटिएकी नेहाको अहिले उपचार भइरहेको छ । बैतडीको शिवनाथ गाउँपालिका–६ काे शिवनाथ मन्दिर नजिकै मायाको शव फेला परेको थियो भने नेहा घाइते अवस्थामा भेटिएकी थिइन् ।

कास्कीको पोखरामा रहेकाे हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत कोली बिदामा घर आएका बेला याे घटना घटेको हो । घटना लगत्तै कोली गाउँबाट फरार रहेपछि हत्यामा उनको संलग्नता रहेको आशङ्का गरिएको थियो । प्रहरी स्राेतका अनुसार प्रारम्भिक बयानमा कोलीले मायाको हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीमा मुद्दा चलिरहेकाले कोलीलाई आजै बैतडी पठाउने तयारी गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।