यो वर्षको दीपावलीकै दिन बेलायतमा भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बन्ने निश्चित भयो। बेलायतका पूर्वअर्थमन्त्री ऋषि सुनक मुलुककै नेतृत्व गर्ने स्थानमा आइपुगे।
सुनक कन्जरभेटिभ पार्टीको संसदीय दलको नेतामा चयन भएसँगै सम्भवत: पार्टीको आन्तरिक विवादमा बिर्को लाग्न सक्छ। तर हालैका घटनाहरू हेर्ने हो भने बेलायती अर्थतन्त्रले भोगिरहेको समस्या सजिलै पार लाग्ने देखिन्न। आर्थिक संकटको समाधान गर्न नसक्दा कन्जरभेटिभ पार्टीबाट प्रधानमन्त्री बोरिस जोन्सन र लिज ट्रसले राजीनामा दिनुपरेको छ। यस्तो परिवेशमा फरक वर्ण र भिन्न संस्कृतिकाबीच बेलायतको बागडोर सम्हाल्न आइपुगेका सुनकले सत्तारोहणपूर्व नै इतिहास रचेका छन्।
बेलायतका निम्ति भारतीय मूलका व्यक्ति प्रधानमन्त्री हुनु नौलो भए पनि समग्र युरोपका लागि भने नयाँ विषय होइन। पोर्चुगलका वर्तमान प्रधानमन्त्री एन्टोनियो कोस्टा भारतीय मूलकै हुन्। आइरल्याण्डमा सन् २०१७ देखि २०२० सम्म प्रधानमन्त्री रहेका लिओ भर्डाकरका बुवा पनि मुम्बईका थिए। भर्डाकर फेरि प्रधानमन्त्री चुनिने सम्भावना छ। लिज ट्रसको जस्तो ४५ दिनमै सत्ता छोड्नु पर्ने बाध्यता सुनकलाई आई परेन भने केही समयपछि बेलायत र आयरल्यान्डबीच वार्ता हुँदा दुबै देशका सरकार प्रमुख भारतीय मूलका हुनेछन्।
सुनक बेलायती प्रधानमन्त्री हुनु महत्वपूर्ण त छँदैछ त्यसको अर्थ स्वभाविक रूपमा खास छ। बेलायतले भारतीय उपमहाद्वीपमा दुई सय वर्षसम्म राज गर्दै यहाँबाट बहुमूल्य सामान लिएर गएको छ।
बेलायती साम्राज्यको विरासत निकै जटिल थियो। बेलायती साम्राज्यको इतिहास अन्याय, अपमान र शोषणले भरिएको छ। तर त्यही इतिहासले बेलायतसँग दक्षिण एसियाको विशेष सम्बन्ध पनि जोडेको छ। दक्षिण एसियाका धेरै मुलुकमा रहेको वेस्ट मिनिस्टर संसदीय प्रणाली होस् वा यहाँको कानुनी संहिता वा यहाँका सम्भ्रान्त वर्गले सम्पर्क भाषाका रूपमा बोल्ने अंग्रजी भाषामा बेलायती साम्राज्यकै छाप छ।
भारतकै कुरा गर्दा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ वर्षसम्म आइपुग्दा भारतीयहरू संसारभर आफ्नो प्रभाव छर्न सफल छन्। तर एक दशक अघिसम्म पनि कुनै बेला आफूमाथि साम्राज्य चलाएको बेलायतमा भारतीय मूलका मानिसले शासन गर्लान् भन्ने कुरा कल्पना गर्नु पनि भारतीयका लागि निकै परको कुरा थियो।
सात वर्षअघि मात्रै राजनीतिमा आएका ऋषिको उदयले अहिले त्यो कल्पनाभन्दा परको कुरा वास्तविकतामा बदलिएको छ।
बेलायती पूर्वप्रधानमन्त्री विस्टन चर्चिलले कुनै बेला भनेका थिए-भारतीयहरू खराब धर्म मान्ने खराब मानिसहरू हुन्।
अब चर्चिलले भनेको त्यही धर्म अँगालेका र तिनै मानिस पुर्खा भएका व्यक्ति कुनै समय उनले सम्हालेको कुर्सी चलाउन आइपुगेका छन्। हिन्दु धर्मालम्बी प्रधानमन्त्री सुनकले अब बेलायतका चर्चमा पादरी नियुक्ति गर्न सक्नेछन्।
ऋषि कन्जरभेटिभ पार्टीको नेता चुनिँदा टी-ट्वान्टी विश्वकपमा पाकिस्तानमाथि जीत निकालेको उत्सव मनाइरहेका भारतीयहरूमाझ अर्को खुसी पनि थपियो। सुनक बेलायतको प्रधानमन्त्री बन्ने भएपछिको हर्ष भारतीय टेलिभिजनमा स्क्रिनमा पनि देखिन्थ्यो।
एनडिटिभीले ऋषिको जितबारे ब्यानर हेडलाइन बनायो- ‘साम्राज्यमाथि राज गर्ने भारतीय छोरो! बेलायतमा भारतीय मूलका सुनकको सत्तारोहणलाई भारतभर अविश्वसनीय उपलब्धिमा रूपमा मनाइएको छ।
बेलायती सत्तामा सुनकको उदयको अर्को पाटोबारे पनि चर्चा गर्नुपर्ने हुन्छ। बेलायतको राजनीतिको सन्दर्भमा सुनकको जातीय पृष्ठभूमि र सांस्कृतिक पहिचान उनले आफ्नो करियरका दौरान आर्जेको दौलतभन्दा कम महत्वपूर्ण मानिन्छ। उनी ख्यातिप्राप्त वित्तिय संस्था गोल्डम्यान स्याक्समा काम गर्थे। दुइटा हेज कम्पनीका व्यवस्थापक थिए। उनको विवाह भारतीय अर्बपति नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग भएको छ। अक्षता फेसन डिजाइनर हुन्। यो दम्पतीसँग ८ सय ३० मिलियन डलर सम्पत्ति रहेको अनुमान गरिन्छ।
ऋषि अर्थमन्त्री हुँदा पनि अक्षता विदेशमा आफूले आर्जन गरेको सम्पत्तिमा कर नतिर्ने मनसायले बेलायतमा गैरआवासीय नागरिकका रूपमा बसेको भन्दै विवाद भएको थियो।
खैर सुनकको कथा भने परम्परागत आप्रवासीको सफलताको कथा हो। उनी बेलायतको तटीय सहर साउथ एम्पटनमा जन्मिएका हुन्। हिन्दु पञ्जाबी पृष्ठभूमिको उनको परिवार बेलायती उपनिवेश रहेको पूर्वी अफ्रिकामा पुगेका थिए। मध्य वर्गीय परिवारको संघर्षकै कारण उनी बेलायतको राजनीतिक सम्भ्रान्तसम्म बन्न पुगे।
‘मेरा हजुरबुवा-हजुरआमा भारतको उत्तरी क्षेत्रबाट हुनुहुन्थ्यो। त्यस यताका दुई पुस्ता यता आयौं। उहाँहरूको नाति आज बेलायतको सांसद लड्ने हैसियतमा आइपुगेको छ। मेरो परिवारको यो सफलताको कारण शिक्षा नै हो,’ सन् २०१५ मा पत्रकारसँगको कुराकानीमा ऋषिले भनेका थिए।
सुनक प्रधानमन्त्री बन्ने पक्का भएपछि सोमबार उनका हजुरबुवाले साउथ एम्पटनमा स्थापना गरेको हिन्दु मन्दिरका अध्यक्षले यो हाम्रा लागि ‘बाराक ओबामा’को जस्तो अनुभूति हो भन्दै खुसी साटे।
अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति बनेका ओबामालाई वर्णसम्बन्धी प्रश्नले सधैँ घेरिरह्यो। सुनकले भने कम्तीमा अहिलेसम्म त्यस्ता प्रश्न कमै खेपेका छ्न्।
यस विषयमा टिप्पणी गर्दै बेलायती आप्रवासन बारेका जानकार सुन्दर कटवालाले भनेका छन्, ‘सम्भवत: बेलायतको राजनीतिले जातीय र वर्णको विविधितालाई सामान्यीकरण गर्न खोज्दैछ। यसअघि नै मुस्लिम समुदायका व्यक्ति दुई पटक लन्डनको मेयर हुनु यसको उदाहरण हो।’
आप्रवासनसम्बन्धी थिंकट्यांक ब्रिटिस फ्युचरका निर्देशक कटवालाले ऋषिलाई बेलायती संकट पार लगाउन कन्जरभेटिभ पार्टीभित्रबाट अन्तिम अस्त्रका रूपमा पनि अघि सारिएको हुन सक्ने बताए।
सुनक निश्चित रूपमा बेलायती सम्भ्रान्त नै हुन्।
‘सुनकले बेलायती सम्भ्रान्त जीवनको उपभोग मज्जैले गरेका छन्। सम्भ्रान्तहरूसँगै उठबसका कारण उनी शक्तिमा उदाएका व्यक्ति हुन्,’ सन् २०२० मा प्रकाशित उनको एक जीवनीमा भनिएको छ।
उनको पृष्ठभूमिपछि प्रधानमन्त्रीका रूपमा उनको यात्राबारे चर्चा गरौं। ट्रस र बोरिस जोन्सनले जुन कारणले सत्ता छोड्नुपर्यो सुनकले पनि त्यही पृष्ठभूमिमा सत्ता सम्हालेका छन्। ट्रसको छोटो कार्यकालमा उत्पन्न उथलपुथललाई शान्त स्वभाव भएका सुनकले सम्हालेकोझैं देखिन्छ। तर उनका अघि निकै ठूलो चुनौती छ।
बेलायत युरोपियन युनियनमा नरहेको कारणले उत्तरी आइरल्याण्डले बेलायतको व्यापारलाई पनि फरक दृष्टिकोणबाट लिन थालेको छ। यसअघि युरोपियन युनियनमा निर्यात हुने सामग्रीमा कुनै कडाइ थिएन। इयूको कडाइले निर्यातमा बेलायतलाई समस्या भएको छ। यो विषय अब सुनकले समाधान गर्नुपर्नेछ।
सत्तामा उनको उदयलाई प्रतिपक्षी दलले कडा शब्दमा टिप्पणी गरेका छन्। ।
‘सुनक बेलायतका प्रधानमन्त्री भएका हुन्। उनी एसियाको प्रतिनिधित्वका लागि मात्रै बेलायती सत्तामा छैनन्। आफैं सम्भ्रान्त रहेका उनले कामदार वर्गको प्रतिनिधित्व गर्न सक्दैनन्,’ प्रतिपक्षी लेबर पार्टीका सांसद नाडिया ह्विटोमले ऋषिबारे सामाजिक सञ्जाल ट्विटर यस्तो लेखेका थिए। तर केहीबेरमै उनले त्यो ट्विट डिलिट गरे। नाडिया पनि भारतीय मूलकै हुन्।
बेलायती राजनीतिका विभिन्न आन्तरिक आयाम र चुनौती जे भए पनि ऋषिको सत्तारोहणलाई भारतीय नेताहरूले भने निकै महत्वपूर्ण रूपमा लिएका छन्।
‘बेलायतीले हामीमाथि दुई सय वर्षसम्म शासन चलाए,’ भारतको दक्षिणी राज्य कर्नाटकाका मुख्यमन्त्री वसाभराज बोमाईले भनेका छन्, ‘कुनै दिन भारतीय मूलको मानिस बेलायतको प्रधानमन्त्री हुन्छ भन्ने सायद उनीहरूले सपनामा पनि सोचेका थिएनन्।’
भारतीय राष्ट्रवादी नेताहरू सुनकको सत्तारोहणबाट हौसिए पनि बेलायतले लुटेको धन फिर्ता ल्याउनुपर्नेलगायत उनीहरूको एजेन्डा सुनक र कन्जरभेटिभ पार्टीमा रहेका अरू भारतीय मूलका नेताहरूले सायदै रूचाउने छन्।
जे भए पनि बोमाईले सुनकको सत्तारोहणलाई गौरवका रूपमा लिन भारतीयलाई आह्वान नै गरेका छन्।
‘भारतीयहरू संसारमा कोहीभन्दा पनि कम छैनन्, राजनीतिदेखि प्रशासनसम्म धेरै क्षेत्रमा उनीहरू अघि छन्,’ बोमाईले भनेका छन्, ‘धेरै देशमा भारतीय मूलका सांसद छन् तर बेलायतको प्रधानमन्त्री नै बन्नुचाहिँ विशेष छ।’
(द वासिङ्टन पोष्टमा प्रकाशित थरूरको यो लेख शिशिर ढकालले भावानुवाद गरेका हुन्।)