
बेंगलोरमाथिको लखनउको रोमाञ्चक जित, पुरनले हाने १५ बलमै अर्धशतक
निकोलस पुरनले जारी सिजनको इन्डियन प्रिमियर लिग आईपीएलमा सबैभन्दा छिटो १५ बलमै अर्धतशक हानेको खेलमा लखनउ सुपर जायन्ट्सले रोएल च्यालेनर्जस बेंगलोरलाई एक विकेटले पराजित गरेको छ ।
मार्कोस स्टोइनिस र पुरनको आक्रमक अर्धशतक मद्दतमा लखनउले बेंगलोरले दिएको २१३ रनको लक्ष्य अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्दै रोमाञ्चक जित निकालेको हो । बेंगलोरका टप अर्डरका तीन खेलाडीले अर्धशतक प्रहार गरेपनि जितका लागि काम लागेन ।
ठूलो लक्ष्य पछ्याउने क्रममा लखनउले २३ रनमै तीन विकेट गुमाएको थियो । तर स्टोइनिसले कप्तान केएल राहुलसँग ७६ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाए । राहुले १८ रन जोडे । राहुल र स्टोइनिस आउट भएपछि पुरनेल सानदार ब्याटिङ गरे । पुरनले छैटौं विकेटका लागि आयुस बदोनीसँग ८४ रनको साझेदारी गरे । बदोनीले १९औं ओभरमा हिट विकेट हुनुअघि २४ बलमा चार चौका प्रहार गरी ३० रन बनाए ।
बलिङमा बेंगलोरका मोहम्मद सिराज र वायने पार्नेलले तीन/तीन तथा हर्शल पटेलले दुई विकेट लिए । त्यसअघि घरेलु मैदान एम चेन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा दुई विकेट गुमाएर २१२ रन बनाएको थियो ।
उसका कप्तान फाफ डु प्लेसिस,विराट कोहली र ग्लेन म्याक्सवेलले अर्धशत बनाए । ओपनर कप्तान डु प्लेसिसले ४६ बलमा पाँच चौका र पाँच छक्काको मदतमा अविजित रहँदै सर्वाधिक ७९ रन बनाए । पहिलो विकेटका लागि डु प्लेसिसले विराट कोहलीसँग ९६ रनको साझेदारी गरेका थिए । कोहलीले ४४ बलमा समान चार चौका र छक्का प्रहार गरी ६१ रन बनाए ।
कोहली आउट भएपछि म्याक्सवेलले आक्रमक ब्याटिङ गर्दै दुई सय स्कोर कटाउन मद्दत गरे । म्याक्सवेलले २९ बलमा तीन चौका र ६ छक्का प्रहार गरी ५९ रन बनाए । कप्तान डु प्देसिस र म्याक्सवेलले दोस्रो विकेटका लागि ११५ रनको शतकीय साझेदारी गरे ।
लखनउका लागि मार्क वुड र अमित मिश्राले समान एक/एक विकेट लिए । यस सिजन तेस्रो जितपछि ४ खेलबाट ६ अंक जोड्दै लखनउ अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हार बेहोरेको बेंगलोर तीन खेलबाट दुई अंकसहित सातौं स्थानमा छ ।