बुस्टर डोजका लागि खोप ल्याउने प्रक्रिया सुरु

सरकारले छिमेकी देश भारत र चीनमा कोरोना भाइरस सङ्क्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिकरुपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख सागर दाहालले बिहीवार हिजाे १५ लाख खोपका लागि ‘गाभी’ लाई पत्र पठाइएको जानकारी दिनुभयो । गाभीले कोभ्याक्स सुविधामार्फत् नेपाललाई खोप उपलब्ध गराउनेछ ।

उहाँले खोपबारे जानकारी प्राप्त भइसकेपछि चाँडै नै खोप नेपाल ल्याउने बताउनुभयो । सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन थालेको हो । औषधि व्यवस्था विभागले बुस्टर डोजका लागि मात्र प्रयोग गरिने भएकाले ‘आकस्मिक अनुमति प्रयोग’ पत्र दिएपछि खोप शाखाले कोभ्याक्सलाई पत्र पठाएको हो ।

विभागका प्रवक्ता सन्तोष केसीले बुस्टर डोजका लागि मात्र प्रयोग गर्न मिल्ने भएकाले परिवार कल्याण महाशाखाको खोप शाखालाई अनुमतिका लागि पत्र दिएको जानकारी दिनुभयो ।

‘बुस्टर डोजका लागि मात्र प्रयोग गर्न मिल्ने भएकाले विभागले अनुमति दिएको हो’, उहाँले भन्नुभयो, ‘बुस्टर डोजका लागि ल्याउन थालेको खोप नियमित खोपभन्दा फरक भएकाले अनुमति दिनुपरेको हो।’

छिमेकी देश भारत र चीनमा बी एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ । यस्तै मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुनपानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ ।