बारा–२ मा रास्वपाका रमेश खरेलसहित ३१ जना उम्मेदवारको जमानत जफत

बारा–२ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा ३१ जना उम्मेदवारको जमानत जफत भएको छ। उपनिर्बाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका पूर्ब डिआइजवी रमेश खरेलसहित ३१ जनाको जमानत जफत भएको छ।

खरेलसहित प्रभु साह नेतृत्वको आम जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका अरुण ज्ञवालीको पनि जमानत जफत भएको छ।खरेल र ज्ञवालीसहित ३१ जना उम्मेदवारले कुल सदर मतको १० प्रतिशत समेत नल्याएकोले उनीहरुको जमानत जफत भएको जिल्ला निर्बाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिए।

बारा–२ मा भएको ६९ हजार २२ मत खसेको थियो। जस मध्ये ६८ हजार १९२ मत सदर भएको छ। यसरी सदर भएको मतको १० प्रतिशतभन्दा कम मत ल्याएका उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ। खरेलले २८२९ मत ल्याएका थिए भने आम जनता पार्टीका उम्मेदवार ज्ञवालीले २७३८ मत मात्रै ल्याएकाले दुबै जनाको जमानत जफत भएको हो। ३४ जना उम्मेदवारमध्ये तीन जनाले मात्रै जमानत जोगाउन सकेका छन्। जसमध्ये बिजयी भएका उपेन्द्र यादव २८ हजार ४१५ मत ल्याएका थिए। उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत, एमालेका पुरुषोतम पौडेलले १० हजार २१६ मत ल्याएका थिए ।

-बीरगंजबाट पत्रकार राम मण्डलले देश सञ्चार डट कममा यो समाचार लेख्नु भएको छ ।

Share your love