बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

बारा क्षेत्र नंबर २ काे प्रतिनिधि सभा सदस्यान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।

बुधबार बिहान १ बजे सम्पन्न मतगणनाकाे अन्तिम परिणाम अनुसार निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शीवचन्द्र प्रसाद कुशवाहालाई ५०८१ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पाच दलीय गठबन्धनका समेत साझा उम्मेदवार रहेका यादव २८ हजार ४१५ मतका समथ विजयी हुदाँ उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेद्वार कुशवाहाले २३ हजार ३३४ मत पाए।

मंसिर४ मा भएकाे निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतसंग पराजित भएका जसपा अध्यक्ष यादव उपनिर्वाचनमा भने बारा २ बाट जनमतकै उम्मेदवार कुशवाहालाई पराजित गर्दै विजयी भएका हुन् ।
यस निर्वाचन क्षेत्रबाट मंसिर ४ काे निर्वाचनमा जसपाबाटै निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएकाे यस निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकाे हाे ।

नेकपा एमालेका उम्मेदवार पुरुषाेत्तम पाैडेलले १० हजार २१६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८२९ मत र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत पाए ।

बारा २ मा कुल मतदाता १ लाख ५ हजार २४८ रहेकाेमा आइतबार भएकाे मतदानमा ६९ हजार २२ मत खसेकाे थियाे।

 

Share your love