बारा-२ मा ‍चुनाव लड्न माओवादीका नेता कुशवाहाले छाडे पार्टी, जनमतबाट उम्मेदवार बन्ने

जनमत पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर- २ को उपनिर्वाचनमा शिवचन्द्रप्रसाद कुशवाहालाई उम्मेदवार बनाउने भएको छ।

गत निर्वाचनमा एमाले-जसपा गठबन्धनका उम्मेदवार रामसहाय प्रसाद यादवसँग मात्र ३ सय ५४ मतले पराजित भएका कुशवाहा यसपटक जनमत पार्टीबाट उम्मेदवार भन्ने भएका छन्।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले कुशवाहालाई जनमत पार्टीमा प्रवेश गराएका हुन्।

‘कुशवाहा स्थानीय उम्मेदवार भएको र झिनो मतान्तरले मात्र पराजित भएकोले पार्टीले उम्मेदवार बनाउन लागेको हो,’ जनमत पार्टीका नेता बीपी साहले भने,’बारा २ मा अब हाम्रो जित पक्का भयो।’

बारा २ का जनता बहरिया नेताहरुबाट पीडित रहेकोले जनताको माग अनुसार स्थानीय उम्मेदवार जनमत पार्टीले दिएको नेता साहले बताए।

जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसँग सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा दोबरभन्दा बढी मतले पराजित भएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बारा २ बाट उपचुनाव लड्न रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर क्षेत्र खाली गराएका हुन्।

सुनसरी, मोरङ, सप्तरीबाट क्षेत्र परिवर्तन गर्दै आएका जसपा अध्यक्ष उपेन्द्र यादव बैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ बाट उठ्ने तयारी गरेका छन्।

पूर्वसांसद समेत रहेका कुशवाहाले १३ हजार ४ सय ६८ मत ल्याउँदा रामसहाय प्रसाद यादवले १३ हजार ८ सय २२ ल्याएर विजयी भएका थिए।

यसपटकको उपनिर्वाचनमा जनमत पार्टीका उम्मेदवार कुशवाहा र जसपा अध्यक्ष यादवबीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ।