हात्ती अनियन्त्रित हुँदै गएको र धनजनको थप क्षति पुर्याउन सक्ने भएकाले दाह्रा काटेर जंगलमा छोडिएको पर्सा राष्ट्रिय निकुञ्जका कायम मुकायम प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले जानकारी दिए ।
‘दाह्रा काटिदिएपछि हात्तीहरु अलि कमजोर हुन्छन् र प्रायः त्यो ठाउँबाट भाग्ने पनि गर्छन्’, उनले भने ‘त्यसैले दाह्रा काटेर जंगलमा छोडेका हौं ।’
उनले फर्केर आउन पनि सक्ने भएकोले गस्ती जारी राखिएको बताए । उनका अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा करिब २ अघि पूर्व तर्फबाट सर्लाही, रौतहट, बाराको टाँगिया बस्ती हुँदै तीन वटा भाले जंगली हात्ती राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका थिए ।
सोही क्रममा उक्त हात्तीले बिहीबार निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत नेपाल आयल निगमको पार्किङ क्षेत्र नजिकै जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २१ बस्ने ५१ वर्षीया रुकैया खातुनलाई आक्रमण गरेको थियो ।
बाख्रा चराउँदै गरेकी उनलाई दिउँसो पौने ३ बजेतिर हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । उद्दार गरेर सिमरा स्थित अल्पाइन मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको थियो ।
महिलालाई आक्रमण गरेर जंगलतिर पसेको हात्ती राति पूनः हात्तीसार आइपुगेको थियो । जंगली भाले हात्ती हात्तीसारमा रहेका पोथी हात्तीसँग संसर्गका लागि पनि आउने गर्छन् । हात्तीसारमा आएको मौका छोपेर बिहान २ः५० बजे डार्ट गरिएको थियो ।
बिहान पौने ५ बजे हात्तीसार परिसरमै बेहोस बनाई दाह्रा काटेर सकुशल बिहान ५ः१८ बजे प्राकृतिक वासस्थानमा छोडिएको निकुञ्जमा कार्यरत रेञ्जर हिमाल पाठकले जानकारी दिए । ‘डार्ट गरेको २/३ घण्टापछि हात्ती लठ्ठिन्छ । त्यसपछि बेहास बनाउने सुई लगाएर दाह्रा काटेर निकालिएको हो’ उनले भने ।