बाँकेको कोहलपुरमा पनि डाेजर चल्याे, अतिक्रमित संरचना हटाउन थालियाे

बाँकेको कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालिएको छ । कोहलपुर नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको नेतृत्वमा साेमवार न्युरोड क्षेत्रबाट डोजर लगाएर अतिक्रमित संरचना हटाउन सुरु गरेको हो ।

न्युरोडमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएपछि कोहलपुर बसपार्क पुग्दा भने अवरोध भएको छ । व्यवसायीहरूले डोजर चालकमाथि ढुङ्गा प्रहार गर्न थालेपछि अवरोध हटाउने काम रोकिएको छ । स्थानीय व्यवसायीले विकल्प दिएर मात्रै संरचना हटाउनुपर्ने माग गरेका छन् । मेयर आचार्यले आफूहरूको अभियानमा अवरोध भए पनि काममा सहयाेग गर्न नगरवासीसँग आग्रह गर्नुभएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्ल, जिल्ला ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक हिमालय शाहसहितकाे टाेलीकाे सहयाेगमा कोहलपुरमा अतिक्रमित संरचना हटाउने अभियान सुरु गरिएको छ । काठमाण्डाै महानगरपालिकाबाट सुरु भएकाे अतिक्रमित र अनधिकृत संरचना हटाउने अभियान देशका विभिन्न पालिकाले अनुशरण गरिरहेका छन् ।

Share your love