
बलात्कारको आरोप लागेका बाराको १ वडाध्यक्षद्वारा प्रहरीमा आत्मसमर्पण
आइतबार बेलुका उनी स्वयं प्रहरी सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक संजीव ओलीले जानकारी दिए ।गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिई वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनीविरुद्ध १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।
किशोरीका अभिभावकले २५ असोजमा इलाका प्रहरी कार्यलय निजगढमा उनीविरुद्ध किटानी जाहेरी दिएका थिए । दशैंको टीकाको दिन १९ असोजमा वडा अध्यक्ष राजुले किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । गम्भीर प्रकृतिको फौजदारी अभियोगमा मुद्दा परेलगत्तै उनी फरार भएका थिए ।
बारा जिल्ला अदालतले जर्बजस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी गरेको थियो । प्रहरीले विशेष टोली परिचालन गरेर खोजी भइरहेको बताए पनि उनलाई पक्राउ गर्न सकेको थिएन । बलात्कारको आरोप लागेका वडाध्यक्षलाई पक्राउ गर्न माग गर्दै स्थानीय वासिन्दाले कात्तिक ७ गते पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने निजगढमा प्रदर्शन पनि गरेका थिए ।
इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक संजीव ओलीले प्रहरीले खोजतलास जारी राखेको बेला श्रेष्ठ आफैं प्रहरी कार्यालयमा आएको बताए । बारा जिल्ला अदालतबाट आज म्याद थप गर्ने र बयान लिने लगायतका अन्य अनुसन्धानका कार्यहरु शुरु गर्ने उनले बताए ।जिल्ला प्रहरी कार्यालय बाराले जाहेरी परेलगत्तै घटनास्थल जाँच मुचुल्का, किशोरीको स्वास्थ्य परीक्षण गर्ने, बयान लिने लगायतका कानुनी प्रक्रियाहरु पूरा गरेको बताएको थियो ।