बडादशैँको चौथो दिन माता कुष्माण्डाको पूजा हुदै

नेपालीहरुको महान चाड बडादशैँको चौथो दिन अन्तर्गत आज दुर्गा भवानीको नौ रुप मध्ये कुष्माण्डा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा चलिआएको छ । त्यसै अन्तर्गत बिहिबार कुष्माण्डा देवीको पूजा आरधना गरिदैछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

आफ्नो छातिमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको उत्पत्ति भएको हिन्दु धार्मिक ग्रन्थहररूमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको जनविश्वास छ ।कुष्माण्डा देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् ।यी देवीलाई उष्ण रक्तसमूह मानव, चराचुरुङ्गी तथा माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

कुष्माण्डाको अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । कुभिण्डोको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने प्रचलन छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवी भागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

आजका दिन काठमाडौंको गृहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली नेपालगञ्जको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटनदेवी लगायतका मन्दिर र शक्तिपीठहरुमा दर्शनार्थीको भीड लाग्ने गर्छ ।

बडादशैँको नौ दिन सम्म दुर्गा भवानीका नौ रुपमध्ये पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । बडादशैँ प्रारम्भ भएसँगै विधिपूर्वक दुर्गा भवानीको विभिन्न स्वरूपको पूजा गरेमा आफ्नो मनोकांक्षा पूरा हुने मान्यता छ ।