फोहर फाल्ने एकजना संग वीरगंज महानगरले ५० हजार जरिवाना लियो

शहरको सरसफाइ र सौन्दर्यकरण अभियान चलाएको वीरगञ्ज महानगरपालिकाले शुक्रबार जथाभावी फोहोर फाल्ने एक जनालाई कारबाही गरि ५० हजार रुपैयाँ जरिबाना तिराएको छ । सफा, स्वच्छ र सुन्दर वीरगञ्ज महानगर बनाउने अभियानका साथ सरसफाईलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले पछिल्लो समय ‘नो कम्प्रोमाइज‘ अर्थात कुनै सम्झौता नगर्ने पोलिसी लिएको छ ।

वीरगञ्जको बाइपास सडकखण्डअन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैसीको सडेको हड्डी फालेर दुर्गन्ध फैलाउने शिवपूजन चौरसियालाई महानगरको टोलीले नियन्त्रणमा लिएर ५० हजार रुपैयाँ जरिबाना गरेको हो । महानगरले यस अघि वीरगञ्जकै सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहोर गरेको भन्दै ५१ हजार रुपैयाँ जरिबाना गरेको थियो ।

महानगरपालिकाले चार महिना यता सडक, पेटी र नालामा फोहोर फाल्ने ३ सय ९० जनालाई कारबाही गरि ९ लाख ६० हजार भन्दा बढि जरिबाना असुल गरिसकेको छ । चार महिनाको अवधिमा शुक्रबारसम्म ३ सय ९० जनालाई कारबाही गरि जरिवाना बापत ९ लाख ६१ हजार ५०५ रुपैयाँ रकम असुल गरेको महानगरको फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।

नगर सफा राख्न वीरगञ्ज महानगरले मुख्य तथा सहायक सडकमा ट्र्याक्टर तथा ठेलाबाट दैनिक ३/३ पटक फोहोर संकलन गर्नुकासाथै ब्रुमरमार्फत सडकको धुलो बढार्ने काम पनि गरिरहेको छ ।

Share your love