फिलिपिन्समा साढे २ वर्षदेखि बन्द रहेका विद्यालय आजदेखि खुले, विद्यार्थी खुसी

फिलिपिन्समा साढे दुई वर्षदेखि बन्द रहेका विद्यालय खुलेका छन् । कोरोना महामारी सुरु भएपछि बन्द रहेका विद्यालय आजदेखि खुलेका र लाखौँ विद्यार्थी कक्षाकोठामा पुगेका समाचार संस्था रोयटर्सले जनाएको छ ।

कोरोना महामारीका कारण भौतिक उपस्थितिमा पढाइ बन्द गरेर सबैभन्दा ढिलो विद्यालय खुलाउने अन्तिम देश फिलिपिन्स बनेको छ ।विश्वभर विद्यालय यसअघि नै खुलिसकेका छन् ।

सन् २०२० को मार्चपछि आज पहिलो पटक निकै खुसी हुँदै विद्यार्थी विद्यालय गएका दृश्य देखिएका छन् । बालबालिकालाई मास्क, स्यानिटाइजर र तापक्रम मापन अनिवार्य गरिएको खबरमा उल्लेख छ ।

फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले कार्यकाल सम्हाल्नेबित्तिकै विद्यालय पुनः खुला गर्ने घोषणा गर्नुभएको थियो ।

लामो समय अनलाइनबाट मात्रै कक्षा सञ्चालन गर्दा फिलिपिन्सको शिक्षा प्रणाली बिग्रिन थालेको भन्दै चौतर्फी चिन्ता व्यक्त भएको छ ।

१० वर्षभन्दा कम उमेर समूहका बालबालिकाले अनलाइन कक्षाबाट धेरै उपलब्धि हासिल गर्न नसक्ने अध्ययनहरुले देखाएका छन् ।

फिलिपिन्समा विद्यालय बन्द भएपछि अनलाइन कक्षा, शैक्षिक सामग्री प्रिन्ट गरेर विद्यार्थीको घरमा पुर्‍याउने तथा रेडियो र टेलिभिजनबाट कक्षा सञ्चालन भएका थिए ।

Share your love