जनकपुर — प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह जनकपुर आएकै दिन मंगलबार प्रदेश सरकारले आन्दोलन रोकेको हो ।
मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गरे । मधेस सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै सिंहले राउतलाई भेटेका थिए ।
प्रदेश प्रमुखको कार्यालय अगाडि मधेस सरकारले तीन दिनदेखि धर्ना दिँदै आएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावछि अर्को गठबन्धनको सरकारले प्रहरी समायोजन गर्ने मौखिक आश्वासनको आधारमा प्रदेश सरकारले आन्दोलन फिर्ता लिएको हो । चुनावपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ भन्ने प्रधानमन्त्री देउवाले मौखिक आश्वासन दिएकाले आन्दोलन स्थगित गरेको मुख्यमन्त्री लालबाबु राउतले बताए ।