
प्रहरी उच्च अधिकृतको जन्ममिति विवरण चुहाएको भन्दै हवल्दारको सरुवा
प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको जन्ममिति विवाद सार्वजनिक भएका बेला प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित अरु अधिकृतहरुको पनि जन्ममिति सिट रोलको विवरण सार्वजनिक भएको थियो ।
विष्टलाई कर्मचारी प्रशासन शाखाबाट हटाएर १ नम्बर प्रहरी गणमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले बतायो । विष्ट २०६९ सालदेखि कर्मचारी प्रशासन शाखामा कार्यरत थिए । प्रहरी प्रवक्ता पोषराज पोखरेलले बाहिर आएको कागजात सही भए नभएको यकिन नभएको बताए ।
डीआईजी सिंहको जन्ममिति विवादबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३ फागुनमा उजुरी परेको थियो । प्रहरी प्रधान कार्यालयको छानबिनबाट पनि नागरिकता र शैक्षिक प्रमाण पत्रमा उल्लिखित जन्ममितिमा १ वर्ष ६ महिना २४ दिनको फरक देखिएपछि सिंहले राजीनामा दिएका थिए । उनको राजीनामालाई स्वीकृतिका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले गृह मन्त्रालय पठाएको छ ।
उनको सिट रोलको विवरण सार्वजनिक हुँदा अन्य उच्च अधिकृतहरुको जन्ममितिको विवरण समेत बाहिर आएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो ।
यसरी सार्वजनिक विवरण अनुसार अशोक सिंहकै ब्याची डीआईजी भीमप्रसाद ढकालको जन्ममिति पनि शैक्षिक प्रमाण पत्र र नागरिकतामा फरकफरक देखिएको छ । ढकालको नागरिकतामा जन्ममिति २८ मंसिर २०२४ उल्लेख छ । तर, शैक्षिक प्रमाण पत्रमा २८ मंसिर २०२५ उल्लेख छ । उनको उमेर एक वर्षले फरक देखिन्छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी दिवेश लोहनीको जन्ममिति ६ महिना २६ दिनले फरक देखिएको छ । नागरिकता अनुसार उनको जन्ममिति १५ वैशाख २०२५ छ भने शैक्षिक प्रमाण पत्रमा १९ असोज २०२४ छ ।
लोहनी हालका आईजीपी धिरजप्रताप सिंहका ब्याची हुन् । उनकै ब्याचका डीआईजी मसउद आलम खाँको नागरिकता र शैक्षिक प्रमाण पत्रबीच ५ महिना १ दिनले जन्ममिति फरक छ ।
डीआईजी श्यामलाल ज्ञवालीको ५ महिना ५ दिन र किरण बज्राचार्यको २९ दिनले जन्ममिति फरक देखिएको छ ।
तर प्रहरी नियमावलीमा कुनै प्रमाण पत्रमा वर्ष मात्र उल्लेख भएको भए अर्को प्रमाण पत्रमा पूरा जन्ममिति खुलेको रहेछ भने त्यस्तोमा एक वर्षसम्मको अन्तर देखिए पूरा खुलेको जन्ममितिका आधारमा कायम गर्ने प्रावधान छ ।