प्रधानमन्त्री शेरबहादुर देउवा र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सिएफओ एच के पार्कबीच शिष्टाचार भेट भएको छ। पार्कले बुधबार नेपालको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्।
भेटका क्रममा पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेल र रोजगारी सिर्जनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलका बारेमा जानकारी गराए। उनले यस प्रकारको पहलहरूले भविष्यमा समुदाय, विशेष गरी नेपाली युवाहरूको हितमा काम गरिने सामसङको प्रतिबद्धता रहेको समेत दोहोर्याए।
सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेक्ट्रोनिक्स (गोल्छा समूह)सँग मिलेर नवलपरासीमा एलइडि टिभी उत्पादन गर्ने कारखाना सञ्चालन गर्ने घोषणा गरेको छ। नेपालमा इलेक्ट्रोनिक्स उत्पादनहरू गर्न यस नयाँ उद्योगबाट बल पुग्नेमा सामसङ विश्वस्त रहेको बताइएको छ। यसका साथै स्थानीय उत्पादन क्षमता वृद्धि गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने नेपाल सरकारको नीतिमा पनि मद्दत पुग्नेछ।
सामसङ नेपालमा सन् १९९७ देखि भित्रिएको हो। हिम इलेक्ट्रोनिक्सले यसका सामानहरू नेपालमा भित्र्याउँदै आएको छ। सामसङले हिम इलेक्ट्रोनिक्समार्फत् नेपालमा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, ओभन र स्मार्टफोनहरू बिक्री वितरण गर्दै आइरहेको छ। नेपालमा पाँच सयभन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोरहरू र ग्राहक सेवा केन्द्रहरूको सञ्जालमार्फत् सामसङले सेवा प्रदान गर्दै आइरहेको छ।