कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण सफल भएको बताएका छन्।
आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस उपसभापतिसमेत रहेका खड्काले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सफल भएको बताएका हुन्।
बेल्ट एन्ड रोड (बीआरआई) मा सत्ता गठबन्धन दलको सहमतिमै प्रधानमन्त्रीले चीनसँग सहमति जनाएको जानकारी उनले दिए।
अर्को प्रशंगमा खड्काले संघीयता कार्यान्वयन गर्ने प्रक्रियाबाट सरकार पछि नहट्ने पनि बताए। ‘सरकार संघीयता कार्यान्वयन गर्नेमा दृढ छ,’ खड्काले भने।
संघीय शिक्षा ऐन संसद्मा टेबुल भइसकेको बताउँदै उनले निजामति कर्मचारी ऐन र संघीय प्रहरी ऐन संसद्कम दर्ता गर्ने तयारीमा सरकार रहेको जानकारी दिए।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्न सरकार दृढ छ,’ खड्काले भने, ‘संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको छ, सम्बन्धित मन्त्रालयले निजामति र प्रहरी ऐन तयारी गरेर संसद्मा दर्ता गर्ने तयारी गरिरहेका छन्।’
संघीय सरकारले कानुन नबनाउँदा नागरिकले प्रत्यक्ष रुपमा संघीयताको अनुभूति गर्न नपाएको उनको भनाई थियो।
उनले सुशासन, विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिने गरी काम गरिरहेको दावी पनि गरे। ‘हामी केही दिनभित्रै सुशासन सम्बन्धि कार्यक्रम घोषणा गर्ने तयारीमा छौँ,’ उनले भने।
विकास-निर्माणका सन्दर्भमा देखिएका कानुनी अड्चनहरुलाई हटाउन केही नेपाल ऐन संशोधनको प्रक्रिया अघि बढेको जानकारी पनि उनले दिए।
‘सडकलगायतका पूर्वाधार बनाउँन वनको जग्गा उपभोगमा ठूलो समस्या देखिएको छ,’ खड्काले भने, ‘त्यसलाई हटाउनका लागि केही नेपाल ऐनलाई संशोधन गर्ने प्रक्रिया सरकारले अघि बढाइसकेको छ।’
रक्षामन्त्रीसमेत रहेका खड्काले सुर्खेत विमानस्थल विस्तारमा सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए। प्रभावित क्षेत्रका जनतालाई साथमा लिएर विमानस्थल विस्तार गर्नुपर्ने उनको भनाई थियो।
‘अहिलेको विमानस्थल बढीमा चार सय मिटर विस्तार गर्न मिल्छ। भविश्यका लागि यो विमानस्थलले भार थेग्न सक्दैन्,’ उनले भने, ‘अहिलेलाई सुर्खेत विमानस्थल विस्तार गर्दै रामघाटमा भविश्यका लागि ठूलो विमानस्थल निर्माण गर्नु आवश्यक छ।’