प्रधानमन्त्रीज्यू, आउनुहाेस् गनाैँ, तपाईँहरूकाे याेजना बढी छन् कि हाम्राे : मुख्यमन्त्री राई

मोरङ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सङ्घीयताभित्र प्रदेश संरचना निर्माण भइसकेपछि विकासको तानासाहीकरण भएको आरोप लगाउनुभएको छ ।

मङ्गलवार सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफलमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो । उहाँले सङ्घीय मन्त्रालयका मन्त्रीहरूले एउटा प्रदेशको भन्दा ५/६ गुणा बढी बजेट राखेको भए पनि जिल्ला–जिल्लामा सङ्घीय सरकारले भन्दा प्रदेश सरकारले बढी योजना बनाएको दाबी गर्नुभयो ।

मुख्यमन्त्री राईले सङ्घको नेतृत्वले आफैँ अधिकार र बजेट मुठ्याएर प्रदेश सरकार र पालिकालाई निम्छरो बनाइ आलोचना गरिरहेको आरोपसमेत लगाउनुभयो । प्रदेश सरकारको योजना सङ्घीय सरकारको भन्दा बढिरहेको दाबी गर्दै उहाँले प्रदेशमा नै आएर योजना गणना गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिनुभयो । उहाँले सङ्घ सरकारले अधिकार र बजेट पर्याप्त नदिँदा पनि प्रदेश (आफ्नो सरकार) ले राम्रो काम गरेको उल्लेख गर्दै अनावश्यक समीक्षा र आलोचना नगर्न चेतावनी दिनुभयो ।

मुख्यमन्त्री राईले सङ्घले पैसा र अधिकार दिए विकासका काम कसरी हुन्छन् भनेर देखाउने योग्यता प्रदेशसँग रहेको दाबी पनि गर्नुभयो । उहाँले हरेक रूपमा प्रदेश सरकारको आर्थिक अवस्था निम्छरो रहेको बताउनुभयो । सङ्घीयता नै चाहिएको हो भने राष्ट्रिय गौरवका आयोजनाबाहेकका योजनाहरूको रकम प्रदेशलाई दिनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘अरू जेसुकै भए पनि यो सङ्घीयताभित्र प्रदेश संरचना निर्माण भइसकेपछि विकासको तानासाहीकरण भएको छ । मैले प्रधानमन्त्रीलाई पनि चुनौती दिन सक्छु, आज जिल्ला–जिल्लामा तपाईँको केन्द्र सरकारको योजना बढी छन् कि प्रदेश सरकारको योजना बढी छन् ? म केन्द्रको अर्थमन्त्रीलाई, प्रधानमन्त्रीलाई भौतिक पूर्वाधारमन्त्रीलाई पनि चुनौती दिन चाहन्छु कि हाम्रो सिङ्गो प्रदेशको बजेटको भन्दा ५/६ गुणा बढी बजेट मुठ्याएर बस्नुभएको छ, तर पनि आउनुहोस् हेरौँ, जिल्ला–जिल्लामा तपाईँहरूको याेजना बढी छन् कि हाम्राे योजना बढी छन् ? सङ्घले आफैँ अधिकार र बजेट मुठ्याएर प्रदेश सरकार र स्थानीय सरकारलाई निम्छरो बनाउने अनि काम गरेन भनेर आलोचना गर्ने, यस्तो पनि हुन्छ ? पैसा दिनुहोस्, अधिकार दिनुहोस्, हामी काम गर्छाैँ ।’

मुख्यमन्त्री राईले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश १ को नामकरण टुङ्गो लगाउन नसकेर प्रदेशलाई नै जिम्मा लगाएको भन्दै अहिलेको मुख्यमन्त्रीको काँधमा बन्दुक राखेर पड्काउन खोज्नु गलत भएको टिप्पणी गर्नुभयो । उहाँले यसअघिका सरकारले पहिचानका आधारमा प्रदेशको नामकरण गर्ने कुरा पहिल्यै उठिसकेको भन्दै आलोचना खेप्न नसकेर अरूलाई जिम्मा लगाएको दाबी गर्नुभयो । मुख्यमन्त्री राईले संविधानमा नाम टुङ्ग्याउने विषयमा केन्द्रको निर्देशनको परिकल्पना र ह्विपको परिकल्पना नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नाम टुङ्ग्याउने विषयमा पनि एउटा त सङ्घको डिजाइनको नाममा नै पहिचानको कुरा उठेको नै थियो । केन्द्रको निर्देशनको परिकल्पना छैन । नाम टुङ्ग्याउने विषयमा संविधानमा ह्विपको परिकल्पना पनि छैन । चार वटा विषयमा ह्विप लाग्ने भन्ने मान्यतामा पनि यो विषय पर्दैन । तेस्रो नेताले आफूले नसकेर तल पठाउने अनि अहिले पछि बसेर अर्काको काँधमा बन्दुक राखेर पड्काउन खोज्ने, यस्तो कुरा पनि गर्ने ? तपाईँहरूलाई चाहिएको भए त्यही बेला घोषणा गर्दा हुँदैन थियो ?’

मुख्यमन्त्री राईले सङ्घीयता सैद्धान्तिक रूपमा हुनुपर्ने जस्तो नरहेको उल्लेख गर्दै जे कारणले सङ्घीयता ल्याउन खोजेको हो त्यस्तै सङ्घीयताको डिजाइन हुन नसकेको बताउनुभयो । अहिल्यै सङ्घीयतको मूल्याङ्कन गरेर सङ्घीयता असफल भयो भन्ने नमिल्ने उहाँको तर्क थियो ।

 

Share your love