प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ ।
त्रिपुरेश्वरमा रहेकाे राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि कम्पनीले आफ्ना विशेषज्ञ पठाएको हो ।
हिजो बुधवार प्रधानमन्त्री कार्यालयले विभागमा प्राविधिक टोली पठाएको थियो । हिजो भएको छलफलअनुसार आज बिहीवार पुनः टोलीले विभागका पदाधिकारी तथा कम्पनीका नेपालमा रहेका प्रतिनिधिसँग छलफल सुरु गरेका हुन् ।
प्रधानमन्त्री कार्यालयबाट डाटावेश विशेषज्ञ, प्रोग्राम एक्सपर्ट, मन्त्रालयका सूचना तथा प्रविधि शाखाका उच्चपदस्थ कर्मचारीलगायतले राहदानी विभागमा पुगेर प्राविधिक अध्ययन गरेका थिए । टोलीले सफ्टवेयरमा देखिएको समस्या पहिचान गर्ने प्रणाली र प्रक्रिया के–कस्तो छ भन्ने कुरा प्राविधिकरूपमा पहिचान गर्न आवश्यक अवलोकन गरेको थियो ।
त्यसलगत्तै कम्पनीको चीनमा रहेको मुख्यालयका प्राविधिकहरूसँग प्रधानमन्त्री कार्यालयको टोलीले अहिले देखिएको समस्याका बारेमा कन्फ्रेन्स कलमार्फत कुराकानी गरेको थियो । भिडियो कन्फ्रेन्समार्फत भएको कुराकानीमा प्रधानमन्त्री कार्यालयको टोलीले कम्पनीको प्राविधिक समस्याका कारण सेवाग्राहीले समस्या झेल्नुपरेकोले सम्झौताअनुसार कम्पनीले तत्काल नै सफ्टवेयरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको थियो ।
त्यसलगत्तै कम्पनीले आफ्ना दुई जना उच्चस्तरका प्राविधिकलाई आजै नेपाल पठाएर समस्यालाई थप पहिचान गरी हल गर्न सहमति जनाएको टोली सदस्यले जनाए । यही सहमतिअनुसार भारत र मलेसियाबाट दुई जना प्राविधिक आजै नेपाल आउने र भोलि शुक्रवार प्रधानमन्त्री कार्यालयको प्राविधिक टोलीसँग छलफल गरेर समस्याकाे समाधान खोजिने छ ।
यसअघि प्रधानमन्त्री प्रचण्डले बिहीवार मन्त्रिपरिषद् बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री, मुख्य सचिव, परराष्ट्र सचिव, राहदानी विभागका महानिर्देशकलगायतसँग समस्या तत्काल हल गर्न छलफल गर्नुभएकाे थियाे । छलफलमा तत्काल देखिएको प्राविधिक समस्या हल गर्ने र लामो लाइनमा बस्नु नपर्ने गरी छिटो छरितोरूपमा राहदानी उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्रीले जोड दिनुभएको थियो । त्यही निर्देशनका आधारमा तत्कालको समस्या हल गर्न र भविष्यमा प्रभावकारी सेवा प्रवाहका लागि प्राविधिक टोलीका साथै मुख्य सचिवको नेतृत्वमा परराष्ट्र सचिवलगायतको टोलीले समेत विभागको निरीक्षण गर्नुका साथै विभागका पदाधिकारीसँग छलफल गरेका छन् ।