प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजदेखि प्रक्रिया सुरु-समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गरिँदै

काठमाण्डौ -मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजदेखि प्रक्रिया सुरु भएको छ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेस गर्दैछन् । आयोगले राजनीतिक दलहरूलाई समानुपातिकतर्फको बन्दसूचीमा नाम पेस गर्न आज र भोलि दुई दिनको समय छुट्याएको छ ।

राजनीतिक दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्छ । त्यसैगरी समावेशी सिद्धान्तबमोजिम उम्मेदवारको नाम पेस गर्नुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया निर्वाचन आयोगको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । प्रत्यक्षतर्फको निर्वाचन प्रक्रिया सुरु गर्न आयोगले असोज ११ गते निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत नियुक्त गर्नेछ । असोज २३ गतेदेखि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सुरु हुनेछ । चुनावका लागि मतदान गर्न अब ६३ दिन बाँकी छ ।

Share your love