आज बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीकाे विश्वासको मतको विपक्षमा बाेल्दै महामन्त्री शर्माले प्रचण्डले एमाले र कांग्रेसलाई पालैपालो धोका दिएकाले उनीहरू मिलेर अघि बढे भने अवस्था के हुन्छ भन्ने कुरा सबैले बुझेको विषय भएको समेत बताउनुभयो । उहाँले एमाले अध्यक्ष केपी ओली र पार्टी सभापति शेरबहादुर देउवाबीचको सहयात्रा शुरु हुनसक्ने सम्भावना औँल्याउँदै त्यसको हेक्का राख्न पनि प्रधानमन्त्री प्रचण्डलाई सचेत गराउनुभयो । महामन्त्री शर्माले प्रधानमन्त्रीबाट धोका पाएकाहरूबीच एक होऔँ भन्ने नारा लाग्न सक्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पोहोर एमाले विपक्षमा रह्यो । अहिले कांग्रेस विपक्षमा छ । पालैपालो विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने, धोका खाएकाहरू एक हाेऔँ भनेर नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला ? सम्माननीय प्रधानमन्त्रीज्यू ।’
महामन्त्री शर्माले आफूमाथिको विश्वासको मत घट्दै गएको ख्याल गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।