प्रचण्डजीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्दैनन्,गर्नु पनि हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका नदिने दावी गरेका छन्।

बिहीबार ओली निवास बालकोटमा आयोजित कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रचण्डले एमालेसँग पुस १० गते नै सम्झौता गरिरहेको भन्दै अरुलाई माओवादीले समर्थन नगर्ने दावी गरेका हुन्।

राष्ट्रपतिमा कांग्रेसलाई प्रचण्डले समर्थन गरेमा गठबन्धन के हुन्छ ? भन्ने पत्रकारको प्रश्नको जवाफमा ओलीले पुस १० को सम्झौता कायम रहने बताए। अध्यक्ष ओलीले राष्ट्रपतिमा माधव नेपाल र सुवास नेम्बाङको नाम अघि सारेका छन्।

तर,प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति बनाउनुपर्नेमा जोड दिँदै आएका छन्। राष्ट्रपति चयनबारे प्रधानमन्त्री प्रचण्डले विभिन्न दलका शीर्ष नेताहरूसँग छलफल जारी राखेका छन्।