पेचिलो बन्दै पर्सामा गठबन्धनको सिट बाँडफाँड, सबै क्षेत्रमा कांग्रेस र जसपाको दावी

सत्ता गठबन्धन सिट बाँडफाँटको सकसमा अल्झिइराख्दा यता पर्सा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यको सिट कसले लिने भन्ने विषय झन् पेचिलो बन्दै गएको छ । अनौपचारिक रुपमै भए पनि अन्य जिल्लाका अधिकांश स्थानमा सिट बाँडफाँट टुंगो लागे पनि पर्सामा कांग्रेस र जनता समाजवादी पार्टीबीच तानातान चलिरहेको छ ।

महानगरको मुख्य क्षेत्र समेटिएको क्षेत्र नम्बर १ को सिट बाँडफाँट निकै रोचकमात्र होइन, सत्ता गठबन्धनका दल र ती दलका आकांक्षीबीच तीव्र तानातान देखिएको छ । यो क्षेत्रबाट जितेका सांसद प्रदीप यादव अहिले वन तथा वातावरण मन्त्री छन् । उनी जसरी पनि यो क्षेत्रबाट टीकट पाउनुपर्ने अडानमा छन् भने नेपाली कांग्रेसका अनिल रुंगटा र पूर्व जिल्ला सभापति अजयकुमार द्विवेदी प्रवल आकांक्षीको रुपमा अगाडि आएका छन् ।

प्रधामन्त्रीसमेत रहेका कांग्रेस सभापतिको खास निकट भनेर चिनिएका रुंगटा अघिल्लो चुनावमा यादवसँग पाँच हजारभन्दा बढीको मतान्तरले हारेका थिए । यस पटक जसरी पनि गठबन्धनबाट टीकट लिएर जित आफ्नो पक्षमा निकाल्ने दाउ उनको छ ।

यता द्विवेदी जसरी पनि पर्सा १ मा लड्ने मनस्थितिमा भएको उनी निकट स्रोतले बताएको छ । कांग्रेसको संस्थापन इतर पक्षका लागेका उनको सम्बन्ध देउवासँग त्यति राम्रो नभएकाले कांग्रेसबाट टीकट नपाए अन्य दलबाट भए पनि चुनाव लड्ने तयारीमा रहेको चर्चा वीरगञ्जमा बाक्लै सुनिन्छ ।

विगतमा पाँच हजारभन्दा पनि बढी मतान्तरले हारेका रुंगटाले यस पटक गठबन्धनको उम्मेदवार बन्ने अडान राख्नु र द्विवेदी जसरी पनि चुनाव लड्ने मनस्थितिमा हुनुले कांग्रेसले यो क्षेत्रमा आफ्नो संगठनको अस्तित्व जोगाउन पनि आफ्नै भागमा पार्न कम्मर कसेर लागेको छ ।

यो क्षेत्रमा २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी फोरमले जितेको थियो । त्यसैले पर्सा १ मा यस पटक पनि आफूले पाउनुपर्ने अडानमा जसपा छ । त्यसमाथि यस क्षेत्रबाट जितेका सांसद् प्रदीप यादव अहिले नेपाल सकारको वन तथा वातावरणमन्त्री छन् । उनि यस क्षेत्रको शक्तिशाली नेताको रुपमा स्थापित छन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा जसपाकै मेयर राजेशमान सिंह वीरगञ्ज महानगरको मेयरमा निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ पनि वीरगञ्जकै १९ वटा वडामा पर्छ । त्यसैले दावी अनुसार क्षेत्र नम्बर १ मा जसपाले सिट पाउने प्रवल सम्भावना छ ।

जसपाले पर्साका चारै निर्वाचन क्षेत्रमा दाबी गरिरहेको स्रोतले बतायो । अघिल्लो चुनावमा मधेसवादी गठबन्धनले चारै क्षेत्रमा जित हात पारेको थियो । यो क्षेत्रमा वीरगञ्ज महानगरसमेत समेटिएको छ । महानगरमा सत्ता गठबन्धनकै उम्मेदार बनेका जसपाका राजेशमान सिंह मेयरमा निर्वाचित भएका थिए । अघिल्लो चुनावमा पनि आफूहरुले जितेको र मेयर समेत आफ्नै दलको भएकाले १ नम्बर क्षेत्र आफूले पाउनुपर्ने अडान जसपाको छ ।

मेयर राजेशमानसमेत काङ्ग्रेसको भोटबाट जितेको बुझाई उनीहरूको छ । जसपालाई मेयरमा सघाएकाले सांसदमा नेपाली कांग्रेसले पाउनुपर्ने अडान कांग्रेसको छ । आसन्न चुनावमा जसपाले कांग्रेसलाई सघाउनुपर्ने तर्क उनीहरुको छ । त्यसैले वीरगञ्ज महानगरका क्षेत्र समेटिएको १ र २ नम्बर क्षेत्र र पर्सा ४ मा कांग्रेसको दाबी छ । यात्रा डेली बाट साभार

Share your love