काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले पालिकालाई ऐनमा बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्नलाई हात बाँधिदिएको गुनासो गर्नुभएको छ ।
बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाण्डाैमा आयोजना भएको मूल समारोह कार्यक्रममा बोल्दै उपमेयर डङ्गोलले ऐनमा पालिकालाई बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्ने अधिकार खोसिदिएको गुनासो गर्नुभएको हो । उहाँले बजार अनुगमनको अधिकारमात्रै नभएर कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनाउनुपर्ने बताउनुभयो । उहाँले पालिकालाई कार्यान्वयन गर्न कानुन नभएकाले महानगरले अनुगमन गर्दा विभिन्न समस्या झेल्नुपरेको गुनासाे गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘काठमाण्डाै महानगरपालिकाले आफ्नो काम, कर्तव्य,अधिकार र उपमेयरकाे प्रमुख अधिकारमा पनि बजार अनुगमनलाई तीव्र गतिमा सञ्चालन गर्ने र बजारलाई व्यवस्थापन गर्ने जिम्मेवारी रहेको छ । यसलाई महानगरले अगाडि बढाइरहँदा विभिन्न समस्या झेलिरहेका छौँ । पालिकालाई अनुगमनको अधिकार दिएको छ तर कार्यान्वयन गर्नलाई हात बाँधिदिएको छ । आफ्नो अगाडि मिठा परिकार सजाएर राखिएको छ, खाऔँ भनेको छ तर हात बाँधिदिएको छ । कसरी खानुहोला ? यसका लागि पनि आवश्यक कानुन बनाउनुपर्ने महसुस गरेका छौँ ।’
उपमेयर डंगाेलले पालिकाकाे अधिकार क्षेत्रमा महानगरले अनुगमनलाई प्रभावकारी बनाउन ऐन संशोधन गर्ने काम र अनुगमन तीव्र गतिमा अगाडि बढाउनका निम्ति सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिरहेको बताउनुभयो । उहाँले तीनै तहमा समन्वय गरेर सह–अस्थित्वलाई स्वीकार गर्नुपर्छ भने पनि विभिन्न काम कर्तव्यहरू दोहोरो रहेको बताउनुभयो । दोहोरो काम कर्तव्य हुँदा पनि काम गर्न अफ्ठ्यारो भएको उहाँकाे भनाइ छ ।
उपमेयर डंगोलले बजार अनुगमन गर्दा व्यक्तिगत स्वार्थका कारण विभिन्न समस्या भोगिरहेको बताउनुभयो । उहाँले व्यक्तिगत स्वार्थ राख्नेहरूले पनि आफू पनि उपभोक्ता हो भनेर सोच्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले महानगरमा निर्वाचित भएर आएको नाै महिनाको कार्य अनुभवमा बजार अनुगमन गर्न जाँदा व्यवसायीहरूले थाहा पाइसक्ने गरेको बताउनुभयो । उहाँले अनुगमन गर्न जाने समितिमा बस्ने सदस्यबाहेकलाई भन्दा अरूलाई अनुगमन गर्ने विषयमा थाहा नहुनुपर्ने भए पनि अनुगमन गर्न जाने ठाउँका व्यवसायीहरूलाई कसरी थाहा हुन्छ भन्दै प्रश्न गर्नुभयो ।
उहाँले अनुगमनमा जाने कुनै पनि अधिकारीले राजनीति गर्न नहुने बताउनुभयो । आफ्नो विचार मिल्ने पार्टीको सरकारले गरेको काम ठिक तर त्यही काम अर्को विचारधारको पार्टीले गदौ बेठिक भन्ने प्रचलन त्याग्नुपर्ने मेयर डंगाेलकाे भनाइ छ ।