पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले चीन र चिनियाँ नेतृत्वको प्रशंसा गर्नुभएको छ । पाकिस्तानी प्रधानमन्त्री शरिफले भर्खरै पाकिस्तानमा आएको बाढी, पहिरो र यसका कारण भएको जनधनको क्षतिमा चीनले सहयोग गरेको बताउँदै चीनको प्रशंसाशा गर्नुभएको हो ।
इस्लामावादमा पाकिस्तानका लागि चीनले आज शुक्रवार आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममाा बोल्दै प्रधानमन्त्री सरिफले पाकिस्तानमा आएको बाढी र पहिरोले पुर्याएको क्षतिपछि समयमै चीनले खाद्यान्नलगायतका सामग्री सहयोग गरेर पाकिस्तानी नागरिकलाई सान्त्वना प्रदान गरेको बताउनुभयो ।
पाकिस्तानमा बाढीबाट दशौँ हजार नागरिक घरबारविहीन भएका र उनीहरूलाई खाना र बस्नको समस्या भएका बेला चीनले ठूलो सहायता प्रदान गरेको प्रधानमन्त्री शरिफले बताउनुभयो ।
शुक्रवार बिहान इस्लामावादमा रहेको पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयमा आयोजना भएको कार्यक्रममा चीन सरकारले पाकिस्तानलाई ६ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग हस्तान्तरण गरेको थियो ।
पाकिस्तानका बाढी पीडितका लागि चीनले अघिल्लो महिनादेखि नै खाद्यान्न, औषधि एवम् अन्य सहयोग उपलब्ध गराउँदै आएको छ । यस वर्षको मनसुनी वर्षाका कारण पाकिस्तानमा बाढी र पहिरोले ठूलो जनधनको क्षति गराएको छ ।
यस वर्षको मनसुनी वर्षाबाट पाकिस्तानमा एक हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गएको छ भने भौतिकलगायतका संरचनामा क्षति पुगेको छ ।