पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले वन्यजन्तुको अवैध चोरी सिकारीको घटनामा संलग्न रहेको ठहर गर्दै दुई जना प्रदेश सांसद र पूर्वगाउँपालिका अध्यक्षसहित ४७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
पर्सा क्षेत्र नम्बर ३(१) का प्रदेश सांसद प्रमोदकुमार जयसवाल, काठमाडौंका क्षेत्र नम्बर ५(२) का प्रदेश सांसद श्याम खड्का र सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयवालविरुद्ध वन्यजन्तुको अवैध चोरी सिकारीमा मतियारको रुपमा काम गरेको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको पर्साका वार्डेन अशोक रामले कान्तिपुरलाई बताए ।
सांसद जयवाल स्वतन्त्रबाट निर्वाचित हुने भने खड्का नेपाली कांग्रेसका निर्वाचित सांसद हुन् । पूर्वगाउँपालिका अध्यक्ष जयसवाल जनता समाजवादी पार्टी (जसपा) मा आबद्ध छन् ।
वन्यजन्तु तस्करीमा सांसद खड्का पनि मुछिए
उनीहरूलाई निकुञ्जले वन्यजन्तुको अवैध चोरी सिकारीका लागि मतियारको रुपमा काम गरेको ठहर गरेको हो । वार्डेन रामका अनुसार उनीहरूलाई कसुरदारलाई लाग्ने सजायको आधा हुनेछ । कसुरदारलाई ५० हजार कैद र एक वर्षसम्मको जरिवाना हुने व्यवस्था छ ।
यस्तै, सांसद खड्काको हकमा निकुञ्ज कार्यालय आफ्नो नाममा दर्ता भएको हतियार अन्य व्यक्तिलाई प्रयोग गर्न दिएर वन्यजन्तुको सिकार गर्न लगाएको निकुञ्जले निष्कर्ष निकालेको छ ।
उनलाई निकुञ्जले हातहतियार खरखजना ऐन,२०१९ बमोजिम थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर समेत पठाएको छ ।