पर्साकाे सखुवा प्रसाैनीमा दुई सातादेखि बाघकाे आतंक

पर्साकाे सखुवाप्रसौनी गाउपालिका वडा नम्बर ५ काे उत्तरी भेगमा दुई सातादेखि बाघ आतंक छ । कोइलाभार बिन्दवासिनी साझेदारी वनसँग जोडिएको सिधपुर, सखुवनिया, सियरहीलगायतका गाउमा बाघले आतंक मच्चाएको छ ।

स्थानीय लीला विकले बाघले आफ्नो घर पालुवा कुकुरलाई समेत सिकार बनाएको बताइन् । वडाध्यक्ष वासुदेव महतो थारूले बाघको डरले स्थानीय किसान मकै खेतमा पस्नसमेत छाडेको बताए । कोइलाभार बिन्दवासिनी साझेदारी वन पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।

साझेदारी वनमा विगतमा बाघ नरहेकोमा हाल यस भेगमा देखा परेको बाघ निकुञ्जबाट आएको हुन सक्ने थारू बताउँछन् । निकुञ्जमा हाल ४० बढी बाघ छन् । वडाध्यक्ष थारूले बाघको आतंकबारे डिभिजन वन कार्यालय पर्सालाई जानकारी गराए पनि नियन्त्रणको प्रयास नभएको गुनासो गरे ।  डिभिजन वनका अधिकृत फरमान मियाँले त्यस भेगमा बाघ आतंकबारे जानकारी नआएको बताए ।साभार:कान्तिपुर