नेरा विद्यालयका ४ सय विद्यार्थी चियो भूइँमा बसेर पढ्न बाध्य

बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेको नेरा आधारभूत टेढाकट्टी विद्यालयका ४ सय विद्यार्थीहरु चिसो भूइँमा बसेर पढ्न बाध्य भएका छन् ।

विद्यालयमा डेक्स-बेञ्चको उचित व्यवस्थापन नहुँदा विद्यार्थीहरु चिसो भूइँमा बसेर पढ्न बाध्य भएका हुन् । स्थानीय सरकारले विद्यालयको भौतिक व्यवस्थापनमा चासो नदिदा टेढाकट्टीका विद्यार्थीहरु चिसो भूइँमा बस्न बाध्य भएका छन् । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार आवश्यक भएपनि बाराको यो विद्यालयमा त्यस्तो देखिएकाे छैन् ।

बाराको आदर्श कोटवाल गाउँपालिकामा रहेको यो आधारभूत विद्यालयको अवस्था निकै नाजुक रहेकाे छ । पटक-पटक स्थानीय सरकारलाई सहयोगको लागि आग्रह गरेपनि प्राथमिकतामा नपरेको अभिभावहरुले गुनसो गरेका छन् । विद्यार्थीहरू जीर्ण विद्यालय भवनको चौर, बरन्डाको चिसो भूइँमा बसेर पढ्न बाध्य भएका छन् ।

चिसोले विद्यार्थीहरूको स्वास्थ्यमा नराम्रो असर परिरहेको विद्यालयका प्रधानाध्यापक शारदा सिंहले बताउनुभयो । १ देखि ५ कक्षासम्म पढाई हुने यस विद्यालयमा करिब ४ सय विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यार्थी राखेर पढाउन कक्षा कोठा अपुग भएपछि साेही विद्यालयले २ देखि ३ वटा कक्षाका विद्यार्थीहरूलाई एउटै काेठमा राखेर बहुकक्षा सञ्चालन गर्दै आइरहेको छ ।

Share your love