प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रहरूले अझै पनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयास गरिरहेका बताउनुभएको छ ।
शनिबार काठमाडाैंमा आयाेजित एक कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले सरकार पनि निजी क्षेत्रलाई पाएसम्म दबाउनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुन नसकेको बताउनुभयो । उहाँले निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोचबाट राज्य मुक्त हुनुपर्ने बताउनुभयो । उहाँले दुवैतर्फबाट यस्ता अनुचित सोच नत्यागेसम्म अर्थतन्त्रले गति लिन नसक्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले अहिले विचार, सिद्धान्त, राजनीति, मूल्य, मान्यताको कुरा विस्तार हराउँदै उपभोक्तावादतिर समाज गइरहेको बताउनुभयो । उहाँले राजनीति र समाज नै राष्ट्र, समाज र आमजनताको दीर्घकालीन हिततिर भन्दा तत्काल नाफा नोक्शातिर केन्द्रित हुने गरेको आरोप लगाउनुभयो । उहाँले राजनीतिमा पनि राजनीतिक एजेण्डातिर भन्दा आवेगतिर जाने खतरा पैदा भइरहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले आर्थिक विकासको रणनीतिकाे बारेमा राजनीतिक दलहरुले साझा धारण बनाउन नसक्दा देशको विकासमा ढिलो भइरहेको बताउनुभयो । उहाँले विदेशीले विकसित गरेका विचार, दर्शन, सिद्धान्त, मान्यताको अन्ध अनुकरण गन प्रवृत्ति हावी हुँदै गएको बताउनुभयो ।
उहाँले नेपालको इतिहास, संस्कृति, भुगोल, आर्थिक जीवनले विस्तृत गरेका मान्यताहरु परिभाषित गर्ने दिशातिर सरकारले ध्यान दिन नसकेको बताउनुभयो । अहिले पनि अधिकांशमा केन्द्रीकृत मानसिकता नै हावी हुने गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सबैको सामूहिक प्रयासबाट नै अर्थतन्त्र लयमा आउन थालेको बताउनुभयो । उहाँले सामाजिक सेवामा देखापरेका झन्झटहरुमा पनि समाधानको प्रयास गरिरहेको बताउनुभयो । निजी क्षेत्रलाई अफ्ठ्यारो पार्ने काम गर्न नदिने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो ।